सार्वजनिक भएन पानीको नमुना परीक्षणको रिपोर्ट



नेपालगन्ज।
गत मंसिर २३ गते बजार अनुगमन समितिले बाँकेका विभिन्न सार्वजनिक तथा निजी संस्थामा पिउनका लागि प्रयोग हुने पानीको शुद्धता परीक्षण गर्न भन्दै नमुना संकलन गरेको थियो र त्यसरी संकलन गरिएको नमुनाको परीक्षण रिपोर्ट हालसम्म सार्वजनिक गरिएको छैन ।
प्रक्रियामा रहेको भन्दै सरोकारवाला निकायले उक्त विषयमा प्रतिक्रिया दिएनन् ।

परीक्षणको नतिजा केही दिनमै आएपछि ती ठाउँमा प्रयोग हुने पानीको गुणस्तरका बारेमा यथार्थ थाहा हुने बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्ला प्रशासन कार्यालय बाँकेको आधिकारिक पेजमा उल्लेख गरेका थिए । तर हालसम्म नतिजा सार्वजनिक गरिएको छैन ।

सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ नेतृत्वको टोलीले सामूहिकरूपमा प्रयोग गरिने प्रकृतिका संस्था÷स्थानबाट उपभोग भइरहेको पिउने पानीको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो । धम्बोजी माध्यमिक विद्यालय नेपालगन्ज, प्रभात माध्यमिक विद्यालय बैजनाथ, हिमालयन विद्या निकेतन बैजनाथ, नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर, कोहलपुर बृहद् सहरी खानेपानी उपभोक्ता, नेपाल खानेपानी संस्थान राँझा, आला नगर नेपालगन्ज इलाकामा वितरण हुने, कारकाँदो खानेपानी उपभोक्ता समिति एयरपोर्टनजिकको ह्यान्डपम्पको नमुना परीक्षण गरिएको थियो ।

त्यस्तै, बिहीबार मात्रै बजार अनुगमनका क्रममा नेपालगन्जमा नियमविपरीत सञ्चालित पानी उद्योग बन्द गरिएको छ भने खानेपानी संस्थानले वितरण गर्ने पानीको नमुनासमेत परीक्षणका लागि पठाइएको छ । सहायक प्रजिअ गुरुङका अनुसार नेपालगन्ज–११ मा रहेको रारा पानी उद्योगका पुराना २२ जार नष्ट गरिएको थियो । अनुज्ञापत्र नलिँदासम्म पानी उत्पादनमा रोक लगाइएको छ भने २० हजार जरिवाना गरिएको छ। त्यस्तै उत्पादनमा प्रयोग भएको पानी (कच्चापदार्थ) र उत्पादन भएको पानीको छुट्टाछुट्टै २ वटा नमुना परीक्षणका लागि संकलन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० पुस २८ गते शनिबार