गणेश रावत । कोहलपुर ।
कोहलपुर–२ विकास नगरकी गीता विकको सानै उमेरमा बिहे भयो । विवाह भएको केही वर्षमा उनले एक छोरा र एक छोरी जन्माइन् । १७ वर्षको उमेरमा बिहे गरेकी उनले अनेकौँ बाधा अवरोध झेल्नुप¥यो । एकातिर आर्थिक अवस्था कमजोर भएकाले त अर्काेतिर सानै उमेरमा परिवारको जिम्मेवारी सम्लनुपर्दा उनलाई गाह्रो थियो ।बाधा अवरोध झेल्दै विक निरन्तर अगाडि बढिरहिन् । त्यसैले अहिले उनी सफल उद्यमी बन्न सकेकी छन् ।
सधैँजसो घरको चुलोचौकामा सीमित हुने विकलाई जब कोहलपुर नगरपालिकाले जुत्ता चप्पलको सीपमूलक तालिम प्रदान ग¥यो तब उनको बाटो खुल्यो । विक अहिले सफल उद्यमी अर्थात् मालिक बन्न पुनेकी छन् । जुत्ता चप्पलको सीपमूलक तालिम लिएपछि उनले घरमा आफैँ जुत्ता चप्पल बनाउन सुरु गरिन् । सुरुमा उनले बनाएका जुत्ता चप्पलले बजार नपाउँदा झोला बोकेर विद्यालयदेखि घरघरमा धाइन् । उनी भन्छिन्, ‘नगरपालिकाले बाटो देखाइदियो । मैले त्यसअनुसार मिहिनेत र परिश्रम गरेँ । अनेकौँ दुःखकष्ट भोगेँ ।’ अहिले उनलाई काम भ्याइनभ्याइ छ ।
‘पहिला घरमै यत्तिकै बस्ने गर्थें,’ उनले भनिन्, ‘सबैको भनाइ खानुपथ्र्याे ।’ नगरपालिकाबाट सञ्चालन गरिएको सीपमूलक तालिम उनले पनि लिने अवसर पाइन् । उनीमा केही गर्ने आँट र साहस पलायो ।

‘एक हप्ता सीपमूलक तालिम लिएँ,’ उनले भनिन्, ‘नगरपालिकाले तालिम सकिएलगत्तै जुत्ता चप्पल बनाउने मेसिन दिएको थियो । त्यसबाट घरमै जुत्ता चप्पल बनाउन थालेँ ।’ सुरुमा बिक्री हुन्न कि भन्ने उनलाई डर थियो । बजारको मूल्यभन्दा न्यून मूल्यमा बिक्रीवितरण गर्दा राम्रो व्यपार भएको विकले बताइन् । विस्तारै जुत्ता चप्पलले बजार पाउन थाल्यो । आर्थिक अवस्थामा सुधार भयो । ‘त्यसपछि ३५ हजारबाट घरमै गीतञ्जली लघु उद्यमी व्यवसाय दर्ता गरी सञ्चालन गरेँ,’ उनले भनिन्, ‘अहिले लाखौंको कारोबार र तीन जनालाई रोजगारीसमेत दिएकी छु ।’ दिनमा लाखौंको कारोबार हुने र उद्योगबाट सेन्डिल, जुत्ती, विद्यायका चुज, पाटे जुत्तालगायतका जुत्ता चप्लल उत्पादन हुने गरेको मिसन टुडेलाई जानकारी दिइन् ।
‘सुरुका दिनमा झोलामा बोकेर, नगरपालिका, स्वस्थ्य चौकी, विद्यालय, घरघर बेच्न जाने गर्थें,’ उनले भनिन्, ‘आर्थिक सँगसँगै व्यापार राम्रो भएपछि अहिले गाडी किन्न पनि सफल भएकी छु ।’ अहिले गाडीले नै जुत्ता चप्पल डेलिभरी गर्ने गरेको उनले बताइन् । जुत्ता चप्पलको बजारमा राम्रो माग भएको जनाउँदै उनले बाँकेलगायत कर्णाली प्रदेशमा समेत आफ्ना जुत्ता चप्पल बिक्री वितरण हुँदै आएको दाबी गरिन् ।
श्रीमान् र घरपरिवारको साथ सहयोगबाट सफल उद्यमी बन्न पुगेको विक बताउँछिन् । उनी जस्तै कोहलपुर–१२ चप्परगौडीकी कमला विके पनि एक हप्ताको ढाका उत्पादनको सीपमूलक तालिम लिएर सफल उद्यमी बन्न पुगेकी छन् ।
बाँकेमा ढाका उत्पादन गर्ने कतै ठाउँ नभएपछि विकेलगायत ११ महिलाहरूले संयुक्त रूपमा कोहलपुरमा ढाका उत्पादन गर्ने सल्लाह गरे । उनीहरूको सोचलाई नगरपालिकाले पनि साथ सहयोग गरेर एक महिना सीपमूलक तालिम प्रदान ग¥यो । ढाका उत्पादनका लागि ११ जना महिलाहरूले एउटा समूह बनाए । समूहको नाम थियो ज्ञानज्योति लघु उद्यमी । अहिले उनीहरूले बाँकेको कोहलपुरमा ढाकाका विभिन्न सामग्री उत्पादन गरेर बिक्री वितरण गर्दै आइरहेका छन् ।
ढाका टोपी, खादा, पछ्यौरा, थानको कपडा, जुवारी कोटलगायतका कपडाहरू उत्पादन गर्दै आएको संस्थाकी अध्यक्ष विकेले बताइन् । ‘सीप सिके खेर जाँदैन,’ उनले भनिन्, ‘सानो साबुन, कपडा किन्दा पैसाका लागि श्रीमान्को मुख ताक्नु पर्दैन ।’ आफैँ कमाएर घरधन्दा चलाउन सकिने विके बताउँछिन् । उनी जस्तै रेनुका गौतमले पनि ब्युटिसियनको काम गर्न लागेको ६ वर्ष भयो । काम नपाएर भौँतारिने गौतम अहिले आफू मात्र स्वरोजगार छैनन् अरूलाई पनि ब्युटिसियनको तालिम प्रदान गरी स्वरोजगार बन्न प्रेरित गरिरहेकी छन् ।
स्थानीय सरकारले स्थानीय प्रशिक्षकलाई प्राथमिकता दिँदा उनलाई थप राहत भएको महसुस भएको छ । कोहलपुर नगरपालिकाले प्रशिक्षक बनेर काम गर्न दिँदा धेरै खुसी लागेको उनले बताइन् । उनले भनिन्, ‘केही भए पनि आर्थिक रूपले मद्दत र आफ्नो सीप अरूलाई प्रदान गरी स्वरोजगार बनाउन पाएको भन्दै खुसी व्यक्त गरिन् ।
हिजो अरूको मुख ताक्ने महिलालाई उद्योगी बनाउन नगरपालिका लागिले सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरिन् । अहिले उनले एनटिभी रोडमा ब्युटिपार्लर खोलेर जीवनयापन गरिरहेकी छन् । नगरपालिकाले गृहिणी महिलालाई सक्षम, सबल र उद्यमी बन्न प्रेरित गरिरहेको छ । यसैबाट लाभान्वित भएर गृहिणीहरू सीप सिकेर मालिक बनिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्