कोहलपुर।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, (एन प्याब्सन)ले आज देशव्यापी रूपमा आफ्नो २६औँ स्थापना दिवस मनाउँदै छ । सो अवसरमा एन प्याब्सन कोहलपुर नगर कमिटीले पनि फरक ढंगले आफ्नो स्थापना दिवस मनाउने भएको छ । कोहलपुरस्थित नील सागर सेवा आश्रममा रहेका असहाय, विपन्न तथा ज्येष्ठ नागरिकलाई दुई छाक खाना खुवाएर एन प्याब्सन कोहलपुर नगर कमिटीले सो दिवस मनाउन लागेको हो ।
आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने हिसाबले असहाय ज्येष्ठ नागरिकलाई खाना खुवाएर स्थापना दिवस मनाउन लागिएको एन प्याब्सन कोहलपुर नगर कमिटीका अध्यक्ष विष्णुप्रसाद केसीले जानकारी दिए । ‘हामी औपचारिक कार्यक्रमको तामझाम गर्दैनौँ,’ अध्यक्ष केसीले भने, ‘बिहान सानो औपचारिक कार्यक्रम गरेर ज्येष्ठ नागरिकलाई दुई छाक खाना खुवाउँछौँ ।’
सो औपचारिक कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक विकास संयोजक ईश्वरीप्रसाद विक, एन प्याब्सन लुम्बिनी प्रदेशका सहसचिव गोविन्द चौधरी, सहकोषाध्यक्ष कमल प्रसाईं, सदस्य कुबेर बस्नेत, बाँके जिल्ला अध्यक्ष किशोर मल्ल, सचिव वेगप्रकाश चन्द तथा विद्यालय सञ्चालकहरूको मात्र उपस्थिति रहने उनले जनाए । हरेक पालिकाले आआफ्नै ढंगले स्थापना दिवस मनाउन लागेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्