खुला वक्तृत्वकला प्रतियोगिता आयोजना हुँदै



कोहलपुर।
अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा लायन्स क्लब अफ काठमाडौ न्यू ग्रिन सिटी र लियो क्लब अफ काठमाडौं सौहार्दले संयुक्त रूपमा राष्ट्रिय स्तरको खुला वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्न लागेका छन् । तेस्रो संस्करणको रूपमा आयोजना हुने प्रतियोगिता २०८० पुस १६ गतेदेखि २०८० फागुन २५ अर्थात ८ मार्चसम्म विभिन्न चरणमा सञ्चालन हुने आयोजकले जनाएका छन् ।

३० हजार पुरस्कार राशि रहने उक्त प्रतियोगितामा देशभरका १५ देखि २५ वर्ष उमेर समूहका युवाले सहभागिता जनाउन सक्नेछन् । युवावर्गमा रहेको अन्तरनिहीत क्षमता प्रस्फुटन गराउने उद्देश्यले सो वक्तृत्वकला प्रतियोगिता गर्न लागिएको जनाइएको छ । यसका अतिरिक्त वक्तृत्व सीप विकास, तार्किक शैलीको विकाससम्बन्धी प्रशिक्षण प्रदान गर्नेसमेत उद्देश्य रहेको लियो क्लब अफ काठमाडौँ सौहार्दको वक्तृत्वकला प्रतियोगिता समितिकी संयोजक वर्षा दाहालले जानकारी दिइन् ।

प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछ । पूर्व छनोट, छनोट र अन्तिम गरी तीन चरणमा हुने प्रतियोगितामा १ जनवरीबाट ३० जनवरीसम्म गुगल फर्ममार्फत देशभरबाट दर्ता आवेदन खुला गरिएको छ । उक्त आवेदनलाई प्रदेश अनुरूप विभाजन गरी प्रदेशस्तरीय प्रतिस्पर्धापछि अन्तिम प्रतिस्पर्धाका निम्ति प्रत्येक प्रदेशबाट ३ जना प्रतिस्पर्धी छनोट गरिनेछ । वक्तृत्वकला प्रतियोगिताका निम्ति महिला सशक्तीकरण, बेरोजगारी र बौद्धिक पलायन, जलवायु परिवर्तन र वातावरण, व्यावहारिक शिक्षा र वित्तीय र कानुनी साक्षरता विषय छनोट गरिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० पुस २६ गते बिहीबार