देउखुरी ।
बजारबाट ल्याउने प्लास्टिकका थाल र प्लेटको प्रयोग बढेसँगै मौलिक रैथाने परम्परागत दुना–टपरीको प्रयोग गाउँघरबाटै हराउन थालेको छ । प्लास्टिकका थाल र प्लेट प्रयोग गर्न सजिलो, नयाँ पुस्तामा दुना–टपरी लगाउने सीपको कमी र दुना–टपरीप्रतिको बेवास्ताका कारण यसको प्रयोग हराउँदै गएको हो । धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुना–टपरीभन्दा प्लास्टिकका भाँडाको प्रयोग बढ्न थालेपछि वृद्धवृद्धा चिन्तित हुन थालेका छन् ।
विगतमा नेपाली समाजमा पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायत देव तथा पितृर्यमा सालको पातको दुना, टपरीको प्रयोग गर्ने प्रचलन रहिआएको छ । पछिल्लो समयमा प्लास्टिकका भाँडाको प्रयोग बढेसँगै सहर, बजारमा मात्र नभई गाउँघरबाटै दुना–टपरी हराउँदै जाँदा चिन्ता लागेको लमही नगरपालिका–५ निवासी विष्णुदेवी खनालले बताइन् । ‘गाउँघरमा सानो पूजा हुँदासमेत सालको पात चोखो हुन्छ भन्दै दुना–टपरी बनाएर प्रयोग हुन्थ्यो ।
आफ्नै घरपरिवार तथा समाजले दुना–टपरी बनाइन्थ्यो,’ उनले भनिन्, ‘अहिले प्लास्टिकको भाँडाले गाउँघर ओगट्दा परम्परागत दुना–टपरी हराउने अवस्थामा पुगेका छन् ।’ लमही नगरपालिका–५ निवासी नेपाली कांग्रेसका नगर सभापति सन्तोष बुढाथोकीले विवाह, पूजाआजामा समेत गाउँलेले वनमा गएर सालको पात टिपेर ल्याएर दुना–टपरी बनाएर प्रयोग हुने गरे पनि अहिले युवापुस्ताले चासो नदिँदा विस्तारै दुना–टपरी हराउँदै गएको बताए ।
केही समयअघि सम्म देउखुरीको लमही बजारमा अत्यधिक मात्रामा दुना–टपरीको प्रयोग हुने गरेको उनी सम्झन्छन् । ‘पहिला–पहिला सालको पात टिपेर ल्याई बाँसको सिन्काले सालको पातको दुना–टपरी गाँसिन्थ्यो,’ उनले भने, ‘त्यतिबेला अहिलेको जस्तो प्लास्टिकका भाँडा पनि हुँदैनथे ।’ उनका अनुसार यहाँबाट दुना–टपरी बनाएर समेत केही समयअघिसम्म विभिन्न सहरमा पु¥याउने गरिएको थियो ।
आधुनिकतासँगै नेपाली समाजले बिस्तारै विदेशीको नक्कल गर्न थालेकाले परम्परागतभन्दा विदेशी वस्तुमा नै रुचि बढ्नाले दुना–टपरी हराउँदै गएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालको भनाइ छ । सालको पातको दुना–टपरी बुन्न समय लाग्ने भएकाले पनि छिटो, छरितोका लागि पछिल्लो समय प्लास्टिकका भाँडाको प्रयोग बढ्दै जाँदा परम्परागत दुना–टपरी हराउँदै गएको दुर्गा प्लास्टिक व्यवसायी लमहीका सञ्चालक सपना पाण्डेको धारणा छ ।
केही वर्षअघिसम्म पसलमा मानिसहरू दुना–टपरी पनि खोज्न आउने गरेकामा अहिले प्लाष्टिकबाट बनेका थाल र प्लेटको माग बढी हुनथालेको पाण्डेको अनुभव छ । ‘सालको पातको दुना–टपरी शुद्धताको प्रतीक पनि हो । कहिले पनि जुठो हुँदैन,’ उनले भनिन्, ‘यसको धार्मिक महत्व बेग्लै छ ।’ दुना–टपरीसँगै यो बनाउने सीप पनि गाउँघरबाट हराउँदै गएकोमा कतिपयको चिन्ता छ ।
प्रतिक्रिया दिनुहोस्