नेपालगन्जमा ई–रिक्सा नियमन पेचिलो बन्दै



नेपालगन्ज।
अवैध र अत्यधिक ई–रिक्सा नेपालगन्ज सहरको ठूलो चुनौती बनेकै छ । उक्त चुनौती पार लगाउन नेपालगन्ज उपमहानगरपालिकाले ई–रिक्सा नियमनको रणनीति बनाएर कार्यान्वयन गर्दै लगेको छ । तर एकाएक मंगलबार नियन्त्रणमा लिइएका अवैध ई–रिक्सा डोजर लगाएर नष्ट गरेपछि यो विषय निकै पेचिलो बनेको छ ।

अवैध रिक्सा डोजरले नष्ट गर्नुपर्ने बाध्यता उपमहानगरपालिकालाई किन आइलाग्यो त ? नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट भन्छन्, ‘कतैबाट पनि वैध भन्ने प्रमाणित हुन नसक्ने रिक्सा फेरि कसैले नचलाओस् भन्नका लागि गरिएको यो विधि ठीक होइन रहेछ भन्ने महसुस भएको छ ।’ बुधबार पत्रकार भेटघाटमा नगर प्रमुख विष्टले डोजर चलाइहाल्नु बेठीक थियो भन्ने महसुस गरे तर सबैको चाहना अनुसार रिक्साको नियमनमा उनी दृढ छन् । त्यसका लागि सबैको साथ चाहिएको बिष्टले बताए ।

उपमहानगरपालिकाले जस्तोसुकै दाबी गरे पनि सामान्य नागरिकको जीविकोपार्जन गर्ने माध्यम बनेको ई–रिक्सा नियमन गर्दा डोजर लगाएर नष्ट गर्नुपर्ने उपायप्रति भने विरोध गरिएको छ । त्यही कुरामा यहाँका रिक्सा व्यवसायीहरूले बुधबार प्रदर्शन र चक्काजाम गरेका छन् । नेपालगन्जमा बिहानैदेखि रिक्सासहित प्रदर्शन गरेका रिक्सा चालकहरूले डोजरले नष्ट गरिएको ई–रिक्साको क्षतिपूर्ति दिनुपर्ने, रिक्सा नियमनलाई सरल र सहज बनाउन नारा लगाउँदै उपमहानगरपालिका कार्यालय अगाडि धर्ना र प्रदर्शन गरे ।

रिक्सा चालकहरूले स्थानीय सरकारले गरिब मारेको आरोप समेत लगाए । उनीहरूको प्रदर्शनका कारण केहीबेर आवातजावत बन्द भए पनि सुरक्षा निकायले वैकिल्पक बाटोमार्फत आवागमन सहज बनाएको थियो । लामो समयदेखि ई–रिक्सा व्यवस्थापनमा लागेको नेपालगन्ज उपमहानगरपालिकाले आवश्यक कागजात र वैधता पुष्टि गर्न नसकेका ई–रिक्सा नष्ट गर्न सुरु गरेको बताएको छ । मंसिर १९ गतेदेखि अवैध ई–रिक्सा नियन्त्रण अभियान थालेको नेपालगन्ज उपमहानगरपालिकाले मंंगलबार ५ वटा ई–रिक्सा नष्ट गरेको छ ।

यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजर सुशील शर्माले ई–रिक्सा धनी÷चालककै अगाडि कागजात अद्यावधिक भए÷नभएको, चेसिज नम्बर मिले÷नमिलेको वा भए÷नभएको प्राविधिक जाँच गरेको उपमहानगरपालिकाले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाले इ–रिक्सा नियन्त्रण गर्नुअघि पटक–पटक प्रक्रिया पु¥याउन आग्रह गरेको थियो । नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर ई–रिक्सा अद्यावधिक गर्न समय दिइएको थियो ।

समयसीमाभित्र नै वैधानिक प्रक्रियामा नआएका रिक्साहरू नियन्त्रणमा लिई डोजेरले किचेरै नष्ट गरेको थियो । नेपालगन्ज उपमहानगरपालिकाले हालसम्म ६ सय २३ ई–रिक्सा नियन्त्रणमा लिएको छ । तीमध्ये आवश्यक कागजात र प्रक्रिया पु¥याएपछि ५ सय ३८ ई–रिक्सा फिर्ता भएका छन् । अझै पनि ८५ वटा ई–रिक्सा नियन्त्रणमै छन् । ती ई–रिक्सामाथि पनि छानबिन भइरहेको नगर प्रहरी प्रमुख बोगटीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० पुस २६ गते बिहीबार