मधुर पौडेल । बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिका–८ भँैसासुरस्थित रामजानकी माध्यमिक विद्यालयले विद्यार्थीसँग नगर प्रमुख कार्यक्रम आयोजना गरेको छ। पुस २७ गते पर्ने विद्यालयको वार्षिकोत्सवको अवसर पारेर विद्यार्थीसँग नगर प्रमुख कार्यक्रम आयोजना गरिएको हो । विद्यालयका विद्यार्थी क्याप्टेन चन्द्रबहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले विद्यार्थीका विविध प्रश्नको जबाफ दिएका थिए ।
विद्यार्थीका जिज्ञासा मेट्दै नगर प्रमुख खड्काले नगरपालिकाको नगर सभा, शिक्षा, स्वास्थ्य र विकास निर्माणबारेमा प्रकाश पारेका थिए ।
उनले विद्यार्थी भाइबहिनी भविष्यका कर्णधार भएकाले स्थानीय सरकार, स्थानीय सरकारको संरचना, कार्यपालिका, स्थानीय सरकार सञ्चालन ऐन, कार्यविधि, योजना, बजेट आदिका बारेमा जानकार हुनुपर्ने बताएका थिए ।
मेयर खड्काले सोबारेमा जानकारी दिँदै गुणस्तरीय शिक्षा बनाउनका लागि सबै लाग्नुपर्ने बताए । गुणस्तरीय शिक्षाका लागि सबैभन्दा बढी भूमिका शिक्षक, विद्यार्थी र अभिभावकको रहने उनको भनाइ थियो । वार्षिकोत्सवका अवसरमा विद्यालयले निबन्ध लेखन, कुर्सी दौडलगायतका प्रतियोगिताको समेत आयोजना गरेको छ ।
वार्षिकोत्सवका अवसरमा पुस २५ गते घर–घरमा पुगेर रामजानकी विद्यालयको सकारात्मक पक्ष के छ ? आगामी दिनमा विद्यालयलाई राम्रो बनाउन के गर्नुपर्छ ? जस्ता प्रश्न सोधेर २७ गते कार्यक्रम समापन गरिने रामजानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्