कोहलपुर।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बाँकेले आफ्नो ३३औँ स्थापना दिवस मनाएको छ । मंगलबार प्याब्सन बाँकेले कोहलपुरमा पहिलोपटक खुला चौरमा स्थापना दिवस मनाएको हो । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै नगर प्रमुख आचार्यले निजी विद्यालयहरूको शिक्षामा निकै ठूलो योगदान गरेको बताए । गुणस्तरीय जनशक्ति उत्पादनमा निजी विद्यालयले महत्वपूर्ण भूमिका निभाएको उनको भनाइ थियो ।
संस्थागत विद्यालयहरूलाई सक्नेभन्दा उनीहरूबाट सिकेर अगाडि बढ्नुपर्ने वातावरण सिर्जना भएको उनले बताए । संस्थागत विद्यालयसँग समन्वय गरेर अघि बढ्न स्थानीय सरकार तयार रहेको उनको भनाइ थियो । ‘निजी विद्यालयहरूसँग सहकार्य गर्न हामी तयार छौँ,’ उनले भने, ‘हाम्रा नीति कार्यक्रमहरूले संस्थागत विद्यालयहरूलाई अपमानित हुने, होच्याउने र निरुत्साहित गर्ने काम गरेका छन् भने हामी त्यसलाई सच्चाएर अघि बढ्न प्रतिबद्ध छौँ ।’
विद्यालयमा शिक्षकहरूको भूमिका अहम् हुने भएकाले शिक्षकलाई सम्मानित व्यवहार गर्न उनले आग्रह गरे । ‘शिक्षकलाई मालिकको जस्तो व्यवहार गर्ने होइन,’ उनले भने, ‘त्यसो गरे संस्थाले अपेक्षा गरेअनुसार लक्ष्य प्राप्त गर्न सक्दैनन् ।’ सबैको साझा उद्देश्य गुणस्तरीय शिक्षा भएको बताउँदै उनले कसरी बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्ने विषयमा सबै जना चिन्तित बन्नुपर्ने जनाए ।
सरकारी विद्यालयहरूमा अहिले भएका पठनपाठन र क्रियाकलापहरूमा आफू सन्तुष्ट नभएको पनि उनको गुनासो थियो । ‘राजनीतिले धेरै संस्था थिलथिलो भएका छन्,’ उनले भने, ‘त्यसैले राजनीतिबाट शैक्षिक गतिविधिलाई टाढै राख्नुपर्छ ।’ सरकारको नीति नियममा रहेका सञ्चालन भएका संस्थागत विद्यालयहरूलाई दोस्रो दर्जाका रूपमा हेर्न नहुने र आफूले पनि नहेरेको उनले स्पष्ट पारे ।
प्याब्सनको स्थापना दिवस प्याब्सन बाँकेले फरक रूपमा मनाएको प्याब्सन बाँकेका अध्यक्ष यम रावतले बताए । निजी विद्यालयहरूले देशबाट पूँजी पलायनलाई रोकेको, गुणस्तरीय शिक्षा प्रदान गरेको र कैयौँलाई रोजगारी दिएको उनले बताए । ‘निजी विद्यालयले विदेशमा जाने रकम देशमै रोक्न सफल भएका छन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने दक्ष जनशक्ति उत्पादन गर्नुका साथै ३ लाखभन्दा बढीलाई रोजगारी दिएका छन् ।’
३३औँ स्थापना दिवसको शुभकामना व्यक्त गर्दै उनले निजी विद्यालयहरूका मुख्य नायक शिक्षकहरू भएकाले शिक्षकहरूलाई सम्मान गरिएको बताए । सो अवसरमा १५ वर्षभन्दा माथि अध्यापन गरेका १५ जना शिक्षक र प्रत्येक विद्यालयबाट एक जनाको दरले उपस्थित ९० विद्यालयबाट ९० जना शिक्षकलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उपस्थित अथितिहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । विभिन्न विद्यालयका विद्यार्थीहरूले विज्ञान प्रदर्शनी गरेका थिए । त्यस्तै, कार्यक्रममा विद्यार्थीहरूले विभिन्न संस्कृति झल्किने गरी नृत्यसमेत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्