काठमाडौं।
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पनि पुष्टि भएको हो । छिमेकी चीन र भारतमा यसअघि नै यो भेरियन्ट पुष्टि भएर संक्रमण बढिरहेको छ । पिसिसआर तथा एन्टिजेन परीक्षणमा कोभिड–१९ पुष्टि भएकामध्येका १६ वटा नमुनाको जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमुनामा ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन वान पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भारतबाट आउने नेपाली नागरिकमा फाट्टफुट्ट कोरोना भाइरस पुष्टि भइरहेका बेला कोरोनाको नयाँ सब–भेरियन्ट नेपालमा पनि पत्ता लागेको छ । यसको बढ्दो संक्रमणलाई ख्याल गरेर मन्त्रालयले प्रवेश बिन्दुका सबै हेल्थ डेस्क, स्वास्थ्य कार्यालयहरूमार्फत आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्न र स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयले कोरोना संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि भीडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुन पानीले हात धुन पनि सबैलाई अपिल पुनः गरेको छ । मन्त्रालयले यसअघि नै सूचना जारी गरेर कोरोना भाइरस संक्रमण बढ्न सक्ने जनाउँदै सर्वसाधारणलाई सचेत गराएको थियो ।
कोभिड–१९ को नयाँ भेरियन्ट जेएनवान परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ले गर्दा तीव्र र छोटो अवधिमा फैलिने चिकित्सकहरूको भनाइ छ ।
जेएनवान भेरियन्ट पहिलोपटक सेप्टेम्बरमा अमेरिकामा पत्ता लागेको थियो । विश्व स्वास्थ्य संगठनले यसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ भनेको छ र विश्वव्यापी रूपमा फैलन सक्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्