नेपालगन्ज।
कोहलपुर क्षेत्र सुविधा सम्पन्न र ठूलो लगानीका बोर्डिङ स्कुल खुल्ने क्रम बढेको छ । अर्बौं लगानीमा दर्जनौँ निजी विद्यालय सञ्चालनमा आएका छन् । जसमध्ये कतिपय सुविधा सम्पन्न विद्यालय पनि छन् । अत्याधुनिक सुविधा सम्पन्न मात्र नभई शैक्षिक गुणस्तरलाई वृद्धि गर्ने गरी विद्यालय स्थापना भएको प्याब्सन बाँकेका अध्यक्ष यम रावत बताउँछन् ।
रामजानकी बोर्डिङ स्कुल सुरु भएसँगै यहाँ निजी विद्यालय सञ्चालनको सुरुवात भएको हो । अहिले थुप्रै निजी विद्यालय सञ्चालन भइरहेका छन् । कोहलपुरमा मात्र प्याब्सनमा आबद्ध ५८ वटा विद्यालय रहेको प्याब्सन बाँकेले जनाएको छ । शिक्षालगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले बाँकेलाई शिक्षा क्षेत्रमा आकर्षण बढाउन यहाँका विद्यालयहरूमा लगानी गरेका छन् ।
स्थानीयलगायत अन्यत्रबाट आउने विद्यार्थीहरू यहाँका विद्यालयमा पढ्दै आएका छन् । नेपालगन्जबाट समेत कैयौं विद्यार्थी पढ्नका लागि कोहलपुरका सुविधा सम्पन्न विद्यालयमा आउने गरेको प्याब्सनका अध्यक्ष रावत बताउँछन् । उनी भन्छन्, ‘समग्रमा भन्दा यतिबेला कोहलपुर शिक्षाको हब बन्न सफल भएको छ ।’ परम्परागत ढर्राबाट विद्यालयहरू अब चल्न नसक्ने रावत बताउँछन् ।
कोहलपुर क्षेत्रमा खुलेका विद्यालयहरूले पूर्वाधार निर्माण र शिक्षामा गुणस्तर कायम गर्ने कुरामा ध्यान पु¥याएको निजी विद्यालय सञ्चालकहरूको भनाइ छ ।