वुड प्रदर्शनीमा शिखर प्लाईको सहभागिता



नेपालगन्ज।
भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको ‘नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी’ मा नेपालगन्जको शिखर प्लाइउड उद्योगले पनि सहभागिता जनाएको छ । उक्त प्रदर्शनीमा शिखर प्लाइउड र शिखर केबलले उत्पादन गरिएका सामग्रीसमेत राखिएको छ ।प्लाई र केबल उत्पादनमा चर्चित समूह शिखर ग्रुप २५औं वर्ष पुरानो हो ।

नेपालगन्जमा स्थापना भएको यो समूहले शिखर प्लाई र केबल उत्पादन गर्दै आएको छ । शिखर समूहले पछिल्लो समय भारमा समेत प्लाइउड निर्यात सुरु गरेको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र भारतको फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सले प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीमा काठबाट निर्मित सामग्री, भवनको आन्तरिक साजसज्जाका सामग्रीलगायत वस्तु राखिएका छन् ।

प्रदर्शनीको सहरी विकास मन्त्री सीता गुरुङले पनि अवलोकन गरेकी छन् । सो क्रममा मन्त्री गुरुङले स्वदेशी वस्तुको प्रवर्धन गर्न स्वदेशी उत्पादनको प्रयोगमा जोड दिनुपर्ने बताइन् । उनले नेपालको उत्पादनलाई प्रवर्धन गर्ने नीति सरकारले लिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुन नसकेको स्वीकार गरिन् ।

सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका, २०७१ जारी भएयता सार्वजनिक निकायले आफूले उपयोग गर्ने वस्तु स्वदेशभित्रै उत्पादित हुनुपर्ने व्यवस्था छ । स्वदेशी उद्योग तथा व्यवसायको प्रवर्धनका लागि यस्तो निर्देशिका ल्याइएको भए पनि त्यसको कार्यान्वयनमा भने समस्या रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० पुस २२ गते आइतबार