कोहलपुर।
कोहलपुर नगरपालिका–१४ हवल्दारपुरमा अवस्थित प्रतिभा महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले एकदिने निःशुल्क पाठेघर स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिबार संस्थाले आफ्नै भवनमा निःशुल्क पाठेघर स्वास्थ्य शिविर गरेको हो । संस्थामा आबद्ध सदस्यहरू र आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई निःशुल्क पाठेघर चेकजाँच गर्नुका साथै फिजिसियन सेवा पनि प्रदान गरिएको प्रतिभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष ओकीकुमारी आलेले जानकारी दिइन् ।
सहकारीलाई हेर्ने नजर पछिल्लो समय नकारात्मक भएकाले संस्थाले सकारात्मक काम गरेर सेयर सदस्यलगायतका सदस्यहरूलाई सकारात्मक सन्देश दिन शिविर सञ्चालन गरेको उनको भनाइ छ ।‘आर्थिक अवस्थाले घरमै रोग साँचेर बस्न बाध्य महिलालाई थोरै भए पनि राहत पु¥याउने मनसायले शिविर सञ्चालन गरेका हौं,’ उनले भनिन्, ‘हाम्रो गाउँमा कतिपय पाठेघर पीडित महिला छन् । जो आर्थिक अवस्थाले उपचार गर्न जान सक्ने अवस्थामा छैनन् ।
त्यसैले एक दिन भए पनि निःशुल्क पाठेघरसम्बन्धी शिविर चलाएर रोग पहिचान गरी मृत्युको मुखबाट जोगाउन सकिन्छ कि भन्ने हाम्रो उद्देश्य हो ।’ १ हजार ३ सय ४५ सेयर सदस्य रहेको जानकारी दिँदै उनले सहकारीमा ऋण र बचतको मात्र कारोबार गर्छन् भन्ने भाष्यलाई चिर्नका लागि संस्थाले यस्ता सामाजिक काम गर्दै आएको मिसन टुडेलाई जानकारी दिइन् । अझै पनि महिलाहरू लाज र डरका कारण पाठेघरको समस्या लुकाएर बस्ने गरेको भन्दै ती महिलाहरूलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको बताइन् ।
सो शिविरबाट ६४ जना महिलाहरूले सेवा लिएका छन् । जसमा दुई जनालाई अलि जटिल देखिएको फिजिसियन डा. देवेन्द्र आचार्यले बताए । उनका अनुसार उनीहरूलाई परामर्शका साथै औषधिसम्बन्धी जानकारीसमेत दिइएको थियो । कोहलपुर नगरपालिका वडा नम्बर १४, १५, ७, ८, ९ वडाका स्थानीय महिलाहरूले सेवा लिएको संस्थाका प्रबन्धक दुर्गाकुमारी केसीले जानकारी दिइन् । पाठेघरसम्बन्धी मात्रै नभई फिजिसियन, हाड जोर्नी, ढाड दुख्नेलगायतका सेवा प्रदान गरिएको उनले बताइन् ।
महिलाहरूमा पाठेघरको मुखका क्यान्सरको पहिचान गरी तत्काल उपचारमा सहजता होस् भन्ने उद्देश्यले आयोजित शिविर निकै उपयोगी र फलदायी बनेको केसीले बताइन् । सामाजिक काम अन्तर्गत संस्थाले ५० प्रतिशत छुटमा कम्प्युटर सिकाउने, सिलाइकटाइ तालिम प्रदान गर्ने, तरकारी उत्पादनलगायतमा आर्थिक सहयोग गरेर सेयर सदस्य तथा महिलाहरूलाई रोजगारीमा जोड्दै आएको पनि उनले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्