राप्ती सोनारी ।
राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा बैंकटेश्वर मन्दिर तथा गौशालाको विकासार्थ आज शनिबारदेखि २८ गतेसम्म बैंकटेश्वर शृङ्गारिक महाआरती धर्म जागरण महा महोत्सव २०८० सञ्चालन गरिने भएको छ । महोत्सवको राप्ती सोनारी–९ का वडाध्यक्ष सोहनलाल थारूले उद्घाटन गर्ने कार्यक्रम छ ।
धार्मिक महोत्सव सञ्चालनका लागि सिरधर उपाध्यायको संयोजकत्वमा १५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै, महोत्सवलाई भव्य र सभ्य रूपमा सञ्चालन गर्न प्रचारप्रसार समिति, आर्थिक समिति, स्वागत तथा सत्कार समिति, मञ्च व्यवस्थापन समिति र खानपिन व्यवस्थापन समिति गरी ५ वटा उपसमितिसमेत गठन गरिएको उपाध्यायले जानकारी दिए ।
धार्मिक महोत्सवमा पुस २१ गते बिहान १० बजेदेखि स्थानीयको सहभागितामा विशाल कलश यात्रा गरिने र कलश शोभा यात्रामा झाँकी, भजन कृतनसमेत हुने जनाइएको छ । दिउँसो १ बजे बैंकटेश्वर शृङ्गारिक महाआरती धार्मिक महोत्सव विधिवत रूपमा उद्घाटन गरिने आयोजकले जनाएको छ । गणेश माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने महोत्सवमा दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म प्रवचन, भजन कृतन गरिनेछ भने साँझ ७ बजेदेखि ८ बजेसम्म विश्व प्रसिद्ध शृङ्गारिक महाआरती गरिनेछ ।
राति ८ बजेदेखि १० बजेसम्म रात्रीकालीन प्रवचन, भजन कृतन तथा झाँकी सञ्चालन गरिने आयोजकले जनाएको छ । धार्मिक महोत्सवमा संकल्पकर्ता देवेन्द्र उपाध्याय सञ्जेलले प्रवचन दिने बताइएको छ । महोत्सवका निर्देशक विश्वराज खनालले राप्ती सोनारी–९ मा पहिलोपटक सञ्चालन गर्न लागिएको बैंकटेश्वर शृङ्गारिक महाआरती धार्मिक महोत्सवलाई भव्य र सभ्य रूपमा सञ्चालन गर्न आवश्यक तयारी पूरा भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्