कोहलपुर उद्योग वाणिज्य संघले मनायो रजत दिवस



कोहलपुर।
‘सम्मानित निजी क्षेत्र, सुमन्नत नेपाल’ भन्ने मूल नाराका साथ कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरले १०औँ वार्षिक साधारण सभा र २५औं स्थापना दिवस मनाएको छ । शुक्रबार संघको आफ्नै नवनिर्मित भवनको सभाहलमा साधारण सभा र रजत दिवस मनाएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले व्यवसायीका हकहितका लागि संघ लागिपरेको बताए ।

३–४ वर्षदेखि व्यवसायीहरू धरासायी अवस्थामा रहेको र धेरै सटरहरू बन्द हुने अवस्थामा पुगेको उनले बताए । ‘३–४ वर्षदेखि व्यवसायीहरू धरासायी अवस्था छन् । धेरै उद्योग र सटरहरू बन्द भएका छन्,’ उनले भने, ‘अरू कति बन्द हुने तरखरमा छन् ।’
आर्थिक मन्दीले प्रत्येक वर्ष तिर्नुपर्ने ब्याज व्यवसायीहरूले एकैपटक तिर्दा थला परेको उनको भनाइ थियो । जसका कारण धेरै उद्योगी व्यवसायी पलायन भइसकेको उनले बताए ।

पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघले निरन्तर लबिङ गरेर ब्याज घटाउने प्रयास गरिरहेको जनाए । ‘केही मात्रामा ब्याज घटाउन पनि सफल भएका छौँ,’ उनले भने, ‘तर यतिले मात्र आजको अवस्थामा पुग्दैन ।’ सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरीले उद्योगी व्यवसायीका लागि अनुकूल वातावरण बनाउन आफूहरू लागिपर्ने बताए । संघको विकासका लागि सहयोग गर्न आफू प्रतिबद्ध रहने जनाए ।

कोरोना भाइरस, आर्थिक मन्दी र बैंकको चर्काे ब्याजदरका कारण यो अवधिमा व्यवसायीहरूले धेरै समस्या भोग्नुपरेको कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले बताए । देशभर आर्थिक मन्दीको प्रभाव परेकाले व्यवसायीहरू केही सुधार होला कि भन्ने आशामा रहेको उनको भनाइ छ । बैंकको चर्काे ब्याजदर, मानसिक टर्चरले कतिपय व्यवसायीहरूले आत्मदाहसमेत गर्नुपरेको भन्दै दुःख व्यक्त गरे । ‘आज कतिपय व्यवसायीहरू पलायन भएका छन् ।

केही व्यवसायीहरू जसोतसो भए पनि टिकेका छौं,’ उनले भने, ‘यो बेला टिक्ने बेला हो । एक दिन त फेरि आउला !’ उनले व्यवसायीलाई हतोत्साही नहुन पनि आग्रह गरे । ‘अहिल्यै आशा नमारिहालौँ,’ उनले भने, ‘यतिबेला हामीले आत्म बल बढाउन जरुरी छ ।’कोहलपुर उद्योग वाणिज्य संघले व्यवसायीका हकहितका लागि सधैं आवाज उठाउँदै आएको स्मरण गराउँदै उनले व्यवसायीका जस्तासुकै आपत्–विपद्मा पनि साथ सहयोग गर्दै आएको बताए । कोभिडको समयमा भाडा घटाउनेदेखि ब्याज दर घटाउनेलगायतका काममा दबाब दिँदै आएको अध्यक्ष पौडेलले जानकारी दिए ।

साना तथा मझौला व्यापारी र उद्योगीहरू २० प्रतिशत मात्रै नगरपालिकामा दर्ता भएको कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले बताइन् । कतिपय व्यवसायीले नगरपालिका र उद्योग वाणिज्य संघमा दर्ता भएर के पाइन्छ र ? समेत भन्ने गरेको पाइएको उनको भनाइ थियो।
नगरपालिका र उद्योग वाणिज्य संघमा दर्ता नगराउँदा व्यवसायी स्वयम्लाई कतिपय अवस्थामा अप्ठेरो व्यहोर्नुपरेको उनले जनाइन् । ‘दर्ता नहुँदा आपत्–पिपद्मा राहत तथा सहयोग पाउन कठिन भएको छ,’ उनले भनिन् ।

त्यसैले दर्ता गरेर सञ्चालन गरे भोलि केही भए राहत सहयोग गर्न सहज हुने उनले जानकारी दिइन् ।कार्यक्रममा संघका महासचिव मातृकाप्रसाद सापकोटाले वार्षिक कार्यको प्रतिवेदन र कोषाध्यक्ष भूपेन्द्रप्रसाद काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । १०औँ साधारण सभामा संघको निमार्णाधीन प्रशासनिक भवन निर्माणमा सहयोग गर्ने व्यवसायीहरूलाई सम्मानपत्रसहित खादा लगाएर सम्मान गरिएको थियो।

सो अवसरमा नेपाल उद्योग वाणिज्य संघ उपाध्यक्ष वैद्य, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल, विभिन्न पार्टीका पदाधिकारी, व्यापारी, पत्रकारलगायतका अथितिहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०८० पुस २१ गते शनिबार