नेपालगन्ज।
नेपालगन्ज विमानस्थलबाट झन्डै ५ लाख हवाई यात्रुले आवातजावत गरेका छन् । आन्तरिक उडानमा देशकै सबैभन्दा व्यस्त नेपालगन्ज विमानस्थलबाट सन् २०२३ मा २ लाख ४० हजार २ सय ५० जनाले हवाई यात्रा गरेका छन् । उक्त वर्ष अन्य विमानस्थलबाट नेपालगन्ज ओर्लिने हवाई यात्रुको संख्या २ लाख ३६ हजार १ सय ७० जना छ ।
सन् २०२३ को एक वर्षको अविधमा नेपालगन्ज विमानस्थलबाट विभिन्न सात वायु सेवा कम्पनीले ६ हजार ३ सय ४३ उडान भरेका थिए । यहाँबाट काठमाडौं, पोखरासहित पश्चिमका पहाडी जिल्लामा नियमित उडान हुँदै आएको छ । नेपालगन्ज विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि धेरै आन्तरिक उडान गर्ने विमानस्थलमा पर्छ ।
अति व्यस्त नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल बनाउनका लागि आवश्यक पूर्वाधार निर्माण थालिएको छ । त्यसका लागि २० बर्से गुरुयोजना अनुसार नेपालगन्ज विमानस्थल कार्यालय परिसरमा अत्याधुनिक टर्मिनल भवन निर्माण थालिएको हो ।
नागरिक उडड्यन प्राधिकरणका अनुसार ३ अर्ब रुपैयाँको लागतमा अत्याधुनिक टर्मिनल भवनसहित रनवे, पार्किङ एरियालगायत पूर्वाधार निर्माण सुरु भएको हो । वि।स। २०१७ सालमा बाँकेको खजुरामा नेपालगन्ज विमानस्थल बनेको थियो । २०३० सालमा खजुराको विमानस्थललाई नै राँझाबाट सञ्चालन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्