कारकाँदो घटनाः पीडित भन्छन्–‘दोषीमाथि कडा कारबाही होस्’



नेपालगन्ज।
अंग्रेजी नयाँ वर्षको राति नेपालगन्ज–१८ मा भएको सवारी दुर्घटनामा निधन भएका दुई जनाका परिवारले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै बिहीबार सडक अवरुद्ध गरे । जहाँ घटना घटेको थियो सोही ठाउँमा बसेर पीडित पक्षले दिनभर सडक अवरुद्ध गरेका थिए । घटनालाई रहस्यमय र नियोजित भएको ठहर गरेका पीडित पक्षले घटना घटेको तीन दिन बित्दासमेत मृतक दुवै जनाको शव उठाएका छैनन् ।

नेपालगन्ज मेडिकल कलेजको शवगृहमा शव राखिएको छ । चालकलाई कारबाही र घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्ने माग राख्दै उनीहरूले सडक अवरुद्ध गरेका हुन् । कारकाँदोस्थित सिक्टा सिँचाइ आयोजना कार्यालय नजिक सुप्रप्र ०१–००१प ३४६४ नम्बरको स्कारपियोले ठक्कर दिँदा अंग्रेजी नयाँ वर्ष मनाएर फर्किंदै गरेका २२ वर्षीया आस्था शाह र मायाराम चौधरीको मृत्यु भएको थियो । सोही दुर्घटनामा परी अर्की २४ वर्षीया साहना शाह पनि घाइते भएकी थिइन् ।

आफन्तका अनुसार कैलाली निवासी आस्था नेपालगन्जमा बस्दै आएकी थिइन् भने मायाराम होटल सिद्धार्थमा कार्यरत थिए । दुर्घटना भएको तीन दिन बितिसक्दा पनि बाँके प्रहरी, प्रशासनले घटनाको वास्तविकता लुकाएर दोषीलाई बचाउन खोजेको भन्दै मृतकका परिवार तथा आफन्तले दुर्घटना भएको स्थलमा टायर बालेर सडक अवरुद्ध गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिएको बताए । ‘दुर्घटनाबारे हामीले पीडित पक्षलाई सबै कुरा जानकारी गराएका छौं, हामी कानुनबमोजिम नै अनुसन्धान गरिरहेका छौं,’ उनले भने । प्रहरीले वैकल्पिक बाटो प्रयोग गरेर सवारी साधन पठाइरहेको छ । मदिरा सेवन गरेका चालकसहित स्कारपियोमा अन्य युवा र युवती पनि सवार थिए ।

प्रकाशित मिति : २०८० पुस २० गते शुक्रबार