बाँके ।
लुम्बिनी प्रदेश सरकारका शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले सामुदायिक विद्यालयहरूले भौतिकभन्दा शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा बिहीबार आधारभुत तह प्रथम वडा स्तरीय खेलकुद छनोट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री केसीले उक्त कुरामा जोड दिनुभएको हो ।
सामुदायिक विद्यालयमा आवश्यक भौतिक संरचना बनाउन सरकार तयार रहेको बताउँदै उहाँले विद्यालयको शैक्षिक गुणस्तर पहिलो प्राथमिकतामा रहने बताउनुभयो ।
‘सर्वप्रथम विद्यालयहरूले आफ्नो शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्छ । त्यसपछि विद्यालयमा भौतिक संरचना आवश्यकताअनुसार सरकारले बनाउँछ’ मन्त्री केसीले भन्नुभयो, ‘सबैभन्दा पहिला शैक्षिक गुणस्तर माथि उकास्न लाग्नुपर्छ ।’
उहाँले विद्यार्थीहरूलाई किताबी शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउनुपर्नेमा जोड दिनुभयो । विद्यालयले दिने शिक्षाका साथै त्यहाँको बातावरणले समेत बालबालिकाको भविष्य निर्धारण गर्ने मन्त्री केसीले बताउनुभयो ।
‘घरपछि धेरै समय बालबालिकाहरूले विद्यालयमा बिताउँछन्’ उहाँले भन्नुभयो, ‘विद्यालयको बातावरण र ज्ञानले उनीहरूको भविष्य कस्तो हुन्छ भन्ने कुरामा निर्धारण गर्छ ।’
प्रतिक्रिया दिनुहोस्