21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

चिसोमा सतर्कता अपनाउन अपिल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस १९, २०८०  

नेपालगन्ज।
बाँकेमा चिसो बढेसँगै शीतलहरबाट जोगिन स्वास्थ्य निकाय र जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक अपिल गरेका छन् । नेपालगन्जमा चिसो अत्यधिक रूपले बढेपछि जनजीवन कष्टकर बनेको छ । जल तथा मौसम कार्यालय नेपालगन्जका नायब मौसम विज्ञान सहायक कुमार रानाका अनुसार आज बिहान नेपालगन्जको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।

यसअघि मंगलबार नेपालगन्जको तापक्रम झनै घटेको थियो । कार्यालयका अनुसार मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा कायम गरिँदा नेपालगन्जको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस थियो ।

नायब मौसम विज्ञान सहायक रानाले बुधबारको तुलनामा मंगलबार झनै कम रहेको बताए । हुस्सु र कुहिरोले नेपालगन्जलाई ढाकेको छ । चिसो बढ्दै जान थालेपछि बालबालिका, ज्येष्ठ नागरिकलगायत प्रभावित भएका छन् । कठ्याङ्ग्रिँदो चिसोमा पनि बालबालिका विद्यालय जान बाध्य छन् ।

प्रकाशित मितिः बिहिबार, पुस १९, २०८०     8:35:40 AM  |