17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

सञ्चालनमा आउला त सामुदायिक आयुर्वेद अस्पताल !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस १९, २०८०  

गणेश रावत । कोहलपुर।
सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पताल ११ वर्षदेखि थला परेको छ । योग एवम् प्राकृतिक स्वास्थ्य समाज नेपाल कोहलपुरले निर्माण गरेको उक्त अस्पताल एक युग बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । जनशक्ति र सामग्री व्यवस्थापन नभएको भन्दै ११औँ वार्षिक साधारण सभा मनाइरहँदासम्म अस्पताल सञ्चालनमा आउन नसकेको भन्दै सञ्चालकहरूले गुनासो गरेका थिए । सञ्चालनमा नआउँदा अस्पतालको आँगनमा घाँस उम्रिएको छ ।

अस्पताल सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भइसकेको संस्थाका अध्यक्ष नमप्रसाद शर्माले बताए । ‘तत्कालका लागि अस्पताल सञ्चालन गर्न सकिने पूर्वाधार निर्माण सम्पन्न भएको छ,’ उनले भने, ‘तर, त्यसका लागि आवश्यक जनशक्ति र सामग्री व्यवस्थापन हुन नसक्दा सञ्चालनमा आउन सकेको छैन ।’ उनले अस्पताल व्यवस्थापनका लागि ३ वटै तहका सरकारसँग माग गरे पनि पूरा हुन नसकेको बताए । ‘हामीले तीन तहका सरकारसँग माग ग¥यौं,’ उनले भने, ‘तर, अहिलेसम्म सुनुवाइ भएन ।’ आफूहरूसँग अन्य कुनै आयस्रोत नभएको दुखेसो पनि उनले पोखे ।

पहिला सबैको राम्रो साथसहयोग भएका कारण अस्पताल संरचनाको पूर्वाधार निर्माण गर्न सकिएको तर पछि सबैले हात झिक्दै गएको उनको गुनासो थियो । कोभिड–१९ पछि अधिकांशले अस्पताललाई हेर्नै छाडेको उनले बताए । ‘सबैतिर आर्थिक सहयोगका लागि आग्रह ग¥यौँ,’ उनले गुनासो गर्दै भने, ‘तर सहयोग कतैबाट पनि पाइएन ।’ कोभिडका बेला धेरै स्थानीयलाई सेवा प्रदान गरेर कैयौैंको ज्यान जोगाउन सफल भए पनि कोभिड सकिएपछि भने कसैले वास्ता नगरेको गुनासो गरे ।

सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पताल सञ्चालन भए कोहलपुरका स्थानीयले प्राकृतिक तथा आयुर्वेदिक पद्धतिबाट घरआँगनमै उत्कृष्ट सेवा पाउने दाबीसमेत उनको छ । ‘पश्चिम नेपालमा नयाँ पद्धतिबाट उपचार सेवा सुरु गर्न सबै लागौं,’ उनले आग्रह गर्दै भने, ‘सबैले यसलाई प्राथमिकता दिऊँ ।’ संस्थाको आगामी कार्ययोजनामध्ये प्रमुख प्राथमिकता अस्पताल सञ्चालन गर्नु नै रहेको उनले बताए । आयुर्वेदिक तथा प्राकृतिक उपचारका माध्यमबाट गरिने उपचारका फाइदा तथा प्रचार प्रसार गर्न जरुरी रहेको पनि उनको भनाइ छ ।

संस्थाको साधारण सभाकै अवसरका यस क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका सांसद सूर्यप्रसाद ढकालले ५० लाख चिकित्सालयलाई दिने घोषणा गरेका थिए । उनले अब पनि कोहलपुरमा सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पताल सञ्चालन गर्न नसक्ने हो भने बाहिर नराम्रो सन्देश जाने बताएका थिए । अब अस्पताल सञ्चालनका लागि सबै पक्षलाई गम्भीर भएर सोच्न उनले आग्रह गरेका छन् ।

‘त्यसका लागि सदनदेखि कार्यालयसम्म जहाँ धाउन पनि म तयार छु,’ सांसद ढकालले भनेका थिए, ‘थप आर्थिक सहयोगका लागि पनि म तयार छु ।’कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुबेदीले पनि अस्पताल सञ्चालनका लागि नगरपालिका सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएकी छन् । ‘प्राकृतिक अस्पताल कोहलपुर नगरपालिकाको सम्पत्ति हो,’ सो कार्यक्रममा उनले भनेकी थिइन्, ‘त्यसैले नगरपालिकाको हिउँदे अधिवेशनमा यो विषय समेटेर आगामी आर्थिक वर्षमा हामी बजेट विनियोजन गर्छौं ।’

सांसद र नगर उपप्रमुखका आर्थिक सहयोगका प्रतिबद्धताबाट अस्पताल सञ्चालन हुनेमा केही आशा पलाएको अध्यक्ष शर्माले बताए । उनले अस्पताल सञ्चालनका लागि सबै तह र तप्काबाट सहयोग आवश्यक रहेको पनि जनाए ।

प्रकाशित मितिः बिहिबार, पुस १९, २०८०     8:31:04 AM  |