कोहलपुर।
योग एवम् प्राकृतिक स्वास्थ्य समाज नेपाल कोहलपुरको ११औँ वार्षिक साधरण सभा सम्पन्न भएको छ । ‘रोगी निरोगी बनौं, निरोगी दीर्घजीवी बनौं’ भन्ने मूल नाराका साथ मंगलबार समाजको साधारण सभा सम्पन्न भएको हो । बाँके जिल्ला क्षेत्र नम्बर १ सांसद सूर्यप्रसाद ढकालले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रमको प्रमुख अथितिसमेत रहेका ढकाले सो अवसरमा बोल्दै सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पताल सञ्चालन हुन नसक्नु कोहलपुरबासीका लागि दुःखत भएको बताए ।
अस्पताल सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण कार्य भए पनि कोहलपुरबासीले प्राकृतिक तथा आयुर्वेदिक पद्धतिबाट सेवा लिन बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता रहेको बताए । ११ वर्षदेखि थला परेको योग एवं प्राकृतिक स्वास्थ्य समाज नेपाल कोहलपुरमा निर्माण भएको अस्पताल सञ्चालनका लागि सबै पक्ष गम्भीर रूपमा लाग्नुपर्ने उनको भनाइ छ ।
आफूले पनि अस्पताल सञ्चालनका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए । अस्पताल सञ्चालनका लागि आफूले सक्ने अन्य सहयोग गर्ने पनि उनले जनाए । कोहलपुरबासीलाई घर आँगनमै प्राकृतिक तथा आयुर्वेदिक पद्धतिबाट सेवा दिन जरुरी रहेको उनको भनाइ छ ।
योग एवम् प्राकृतिक अस्पताल सञ्चालनका लागि स्थानीय सरकारले विशेष पहल गर्ने कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुबेदीले बताइन् । प्राकृतिक अस्पताल कोहलपुर नगरपालिकाको सम्पत्ति भएकाले यसको सञ्चालनका लागि नगरपालिकाले हिउँदे अधिवेशनमा समेट्ने पनि जानकारी दिइन् । यसको सञ्चालनका लागि नगरपालिकाको दायित्व रहेकाले नगरपालिका यसतर्फ गम्भीर रहेको उनले बताइन्।
संस्थाका अध्यक्ष नमप्रसाद शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक सहयोग र भौतिक संरचना पूर्णरूपमा निर्माण सम्पन्न नभएकाले सञ्चालन गर्न नसकिएको बताए । उनले अस्पताल सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार तथा जनशक्ति र सामग्री व्यवस्थापनका लागि तीनवटै तहका सरकारसँग माग गरे पनि सुनुवाइ नभएको दुखेसो पोखे ।
आयुर्वेदिक तथा प्राकृतिक उपचारका माध्यमबाट गरिने उपचारका फाइदाका बारेमा समेत उनले प्रकाश पारेका थिए । अस्पताल सञ्चालनका लागि आगामी दिनमा तीनै तहका सरकारबाट साथ सहयोग अपेक्षा गरिएको उनले बताए । कार्यक्रममा सांसद ढकाल, उपमेयर सुवेदी, पूर्व नगर प्रमुख लुटबहादुर रावत, उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, योग एवम् प्राकृतिक स्वास्थ्य समाज नेपाल कोहलपुरका आजीवन सदस्य, पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्