डुडुवाद्वारा गाउँमै सामाजिक सुरक्षा भत्ता विरतण सुरु



डुडुवा।
बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ को प्रथम त्रैमासिकअन्तर्गत साउनदेखि असोजसम्मको भत्ता वितरण गर्न थालिएको हो । गाउँपालिकाको वडा नम्बर २ बेतहनीबाट सोमबारदेखि भत्ता वितरण सुरु गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वडा नम्बर २ का ज्येष्ठ नागरिकलाई रकम हस्तान्तरण सुरु गरेका हुन् ।

भत्ता विरतण कार्यको सुरुवात गर्दै अध्यक्ष चौधरीले चिसोको मौसममा नागरिकलाई सहजताका लागि यस वर्ष बैंकका कर्मचारी वडावडामा पुगेर भत्ता वितरण सुरु गरेकोे बताए । स्थानीयको सहजताका लागि बैंकलाई गाउँघरमै बोलाएर भत्ता वितरण गर्न लागिएको अध्यक्ष चौधरीको भनाइ छ ।

भत्ता वितरण कार्यक्रममा पालिकाका उपाध्यक्ष शाहिदा बानो, २ नम्बर वडाका अध्यक्ष दुर्गाप्रसाद बर्मालगायतको उपस्थिति रहेको थियो । वडा नं. २ अन्तर्गत प्रहरी चौकीबाट भत्ता वितरण गर्न सुरु गरिएको पालिकाका एमआइएस अपरेटर कौशलकुमार कैराँतीले जानकारी दिए ।

उनका अनुसार पालिकाले आर्थिक वर्षको दोस्रो त्रैमासिकको भत्ताको रकम इएफटी प्रणालीको समस्याका कारण खातामा जम्मा नभएकाले पहिलो त्रैमासिकको रकम वितरण गर्न लागिएको र यो रकम पछि वितरण हुनेछ । गाउँपालिकामा पहिलो त्रैमासिकका लागि ४ हजार ३ सय ३८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने पालिकाका वडा सचिव शिवकुमार मौर्यले बताए ।

प्रकाशित मिति : २०८० पुस १७ गते मंगलबार