4 March 2024  |   सोमवार, फाल्गुन २१, २०८०

नरैनापुरको मदरसाका प्रअ र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस १७, २०८०  

नेपालगन्ज ।
बाँकेको नरैनापुर गाउँपालिका–२ स्थित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापक कलिम अहमद जोलाह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । विभिन्न आर्थिक वर्षमा तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तकलगायतका शीर्षकमा साविक जिल्ला शिक्षा कार्यालय, बाँकेबाट निकासा भएको रकम सम्बन्धित शीर्षकमा खर्च नगरी हिनामिना गरेको उनीहरू विरुद्ध आरोप लगाइएको छ ।

आरोपपत्र अनुसार जिल्ला बाँके, नरैनापुर गाउँपालिका–२ स्थित मदरसा दारुल उलूम अमजदिया बरकातियालाई जिल्ला शिक्षा कार्यालय, बाँकेबाट आव २०७०÷०७१ देखि आव २०७४÷०७५ सम्म शिक्षक तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, विद्यालय फर्निचर र भवन निर्माण शीर्षकमा निकासा भएको तथा मदरसाका तत्कालीन प्रअ जोलाहको नाममा लेखापरीक्षण प्रतिवेदनले पेस्की बेरुजु औँल्याएको रकमसमेत सम्बन्धित शीर्षकमा खर्च गर्नुपर्नेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँसँग मिलेमतो गरी १८ लाख ३ हजार ७ सय ४१ रुपैयाँ सम्बन्धित शीर्षकमा खर्च नगरी आफूखुशी खर्च गरेका थिए ।

तत्कालीन प्रधानाध्यापकको हैसियतले आफ्नो जिम्मामा रहेका सक्कल कागजातहरू बरबुझारथ नगरी लुकाएको, नोक्सान पु¥याएको वा नष्ट गरेको भन्ने पुष्टि भएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए । जोलाह र खाँलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा कैद र बिगोसमेत असुलउपर मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रकाशित मितिः मङ्लबार, पुस १७, २०८०     8:29:45 AM  |