गत वर्षको तुलनामा प्युठानमा धान उत्पादन बढ्यो



प्युठान ।
प्युठानमा यस वर्ष धान उत्पादन बढेको छ । उत्पादन वृद्धिसँगै यहाँका किसान खुसी भएका छन् । समयमै मल, बीउ उपलब्ध भएको र वर्षा पनि राम्रो भएका कारण उत्पादन बढेको हो । उन्नत जातको धानको बीउ र चैते धान दुई पटक खेती हुन थालेपछि जिल्लामा धान उत्पादनमा वृद्धि भएको हो । समान क्षेत्रफलमा दुई खेती धान र एक खेती गहुँ उत्पादन हुँदा बजारबाट चामल खरिद गर्न नपर्ने भएको ऐरावती गाउँपालिका–५ कि कृषक सम्झना राउतले बताइन् ।

गत वर्षको तुलनामा ३ हजार ३ सय ७० मेट्रिकटन बढी धान उत्पादन भएको जिल्लास्थित एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ । प्युठानका केही फाँटहरूमा सीमित सिँचाइ सुविधा उपयोग गरी कृषकले चैते धान खेती गर्न थालेका छन् ।एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका अनुसार गत वर्ष ६ हजार १ सय ६५ हेक्टर क्षेत्रफलमा १८ हजार ५ सय ९७ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष २१ हजार ९ सय ६७ मेट्रिकटन धान उत्पादन भएको छ ।

जिल्लामा सबैभन्दा बढी प्युठान नगरपालिका र सबैभन्दा कम नौबहिनी गाउँपालिकामा धान उत्पादन हुने गरेको कार्यालयका कृषि अर्थ विज्ञ एवं निमित्त कार्यालय प्रमुख उमेश श्रेष्ठले जानकारी दिए । जिल्लामा चैते धानखेती, उन्नत जातका बीउको प्रयोग गर्न थालिएको र मौसमले पनि साथ दिएकाले उत्पादनमा वृद्धि आएको उनको भनाइ थियो । श्रेष्ठले भने, ‘प्युठानका किसानले उन्नत जातका धानको बीउ प्रयोग गर्न थालेका छन् । यसले गर्दा चैते धान रोपेर दुई पटक भित्र्याउन सकिन्छ ।’ किसानले खेतीमा नयाँ प्रविधिको प्रयोग थालेका उनले बताए ।

जिल्लाको प्युठान नगरपालिका, मल्लरानी र ऐरावती गाउँपालिकाको ८० हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको श्रेष्ठले जानकारी दिए । प्युठानमा धान उत्पादन वृद्धि तथा प्रोत्साहनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइले धान जोनका रूपमा काम गर्दै आइरहेको छ । धान उत्पादन वृद्धिका लागि यस वर्ष १ सय ५० हेक्टर बढीमा जमिनमा चैते धान लगाउने योजना रहेको कार्यालय प्रमुख कृषि अधिकृत चुमानसिंह गिरीले बताए ।

उनका अनुसार जिल्लामा किसानले चैते धानका रूपमा चैते पाँच, हर्दिनाथ–एक र हर्दिनाथ–तीन, नियमित धानका रूपमा राधा–१२, राधा–१४, सावित्री, हर्दिनाथ–छ जातका धान प्रयोग गर्दै आएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चैते धान खेतीका लागि क्षेत्र विस्तार गरी उत्पादन बढाउन हर्दिनाथ–एक र हर्दिनाथ–तीनलाई यस वर्षदेखि विस्तार गर्न लागिएको गिरीले बताए । उनका अनुसार जिल्लामा ४२ हजार ७ सय ६६ हेक्टर खेतीयोग्य जमिन भएकोमा २२ हजार १ सय २५ हेक्टरमा खेती गरिन्छ ।

 

प्रकाशित मिति : २०८० पुस १६ गते सोमबार