नेपालगन्ज ।
एउटा प्रशासकले चाहेमा हरेक कुरा सम्भव हुन्छ भन्ने उदाहरण बनेको छ, नेपालगन्ज भन्सारनजिकै रहेको पशु क्वारेन्टाइन कार्यालय बाँकेको होल्डिङ यार्ड । जो भवन २५ वर्षदेखि एउटा परिवारको नियन्त्रणमा थियो । कसैले नियन्त्रण मुक्त गर्न नसकेको उक्त भवन बाँकेका प्रमुख जिल्ला अधिकारीका रूपमा श्रवणकुमार पोखरेल आएपछि मुक्त भएको छ ।
न कुनै झैझगडा न त विवाद † अड्डा जमाएर कार्यालयमा बसेको परिवारले भवन खाली गरिदिएको छ । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार २५ वर्ष अघिदेखि अनधिकृत तवरले कब्जा भएको पशु क्वारेन्टाइनको पक्की भवन निर्धारित सातदिने म्याद सकिनुभन्दा एक दिनअघि नै शान्त वातावरणमा फिर्ता भएको छ ।
अनधिकृत प्रयोग भएको भवन मुक्त गर्ने प्रशासनको अग्रसरतालाई समर्थनसहित ऐक्यबद्धता जनाउने बाँकेवासी नागरिकप्रति प्रमुख जिल्ला अधिकारीले आभार प्रकट गरेका छन् । २५ वर्षदेखि गुमाएको भवन प्राप्त भएपछि पशु क्वारेन्टाइनका चिकित्सक लोटनराम चौधरीले मुस्कुराउँदै आफ्नो सरकारी ताल्चा लगाएका थिए ।
उक्त परिवारबाट सरकारी भवन नियन्त्रण मुक्त बनाउन सरोकारवाला निकायलाई हम्मेहम्मे परेको थियो । कैयौँपटक प्रयास गर्दासमेत भवन खाली गर्न नसकिएको पशु क्वारेन्टाइनका अधिकारीहरू बताउँछन् । अतहर हुसेन शेष नाम गरेका व्यक्ति होल्डिङ यार्ड रेखदेखको काम गर्थे । उनी कस्ता कामदार थिए भन्ने नखुले पनि त्यहाँको रेखदेख गर्दै परिवारसँगै यार्डमा बस्थे । त्यहीँ बसोबास गरिरहेका बेला उनको मृत्यु भयो ।
त्यसपछि पनि परिवारका अन्य सदस्यहरू त्यहीँ बसिरहे । मानवीय संवेदनाका कारण केही समय बस्न दिए पनि २५ वर्ष पुग्दासम्म पनि उनीहरूले घरको अन्य विकल्प नखोजेर सरकारी भवनलाई नै नियन्त्रणमा राखेको कर्मचारीहरूले बताए । उक्त भवनमा शेषकी पत्नी र छोराछोरी बसोबास गर्दै आएका थिए । छोराछोरीले बिहे गरेर विभिन्न ठाउँमा कामसमेत गर्दै आएका छन् ।
सरकारी भवनको अनधिकृत प्रयोग हटाउन खोजे पनि यसअघि कसैले सकेको थिएन । पटक–पटक प्रयास गर्दा पनि कुनै राजनीतिक शक्तिको आडमा भवन नियन्त्रण मुक्त गर्न नसकिएको क्वारेन्टाइन स्रोतले बताएको छ ।
तर पुस पहिलो साता भने भवन ७ दिनभित्र खाली गर्न लिखित सूचना टाँसिएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार एकतले भवनमा उक्त परिवार अवैध रूपमा बस्दै आएको थियो ।
उनीहरू गैरनेपाली नागरिक हुन् । लामो समयदेखि सरकारी भवन प्रयोग गरिरहेका परिवारलाई हटाउने कार्यमा सहयोग गर्न भन्दै क्वारेन्टाइनले २०७८÷११÷२६ मा नै बाँके प्रशासनलाई लिखित अनुरोध गरेको थियो । विविध कारणले कार्यान्वयन प्रक्रियाले गति नलिएको ‘गुनासो’लाई सम्बेधन गर्ने प्रक्रिया प्रशासनले सुरु गरेर कार्यान्वयन पनि गर्न सफल भएको छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार सरकारी स्वामित्वको भवन वर्षौंदेखि अनधिकृत तवरले कब्जा गरिरहेका गैरनेपाली नागरिक परिवारलाई उक्त भवन खाली गरिदिन आइतबार ७ दिनको सूचना जारी गरिएको थियो जसमा ती व्यक्तिहरूले साथ दिएका छन् । उक्त घरमा बस्दै आइरहेकाले आफूहरूले लामो समयदेखि घरको रेखदेख गरेको भन्दै केही न केही न्याय गर्नुपर्ने बताउँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्