देउखुरी।
दाङमा अवस्थित थारू संग्रहालय विभिन्न व्यक्तिका लागि अध्ययन अनुसन्धानको थलो बनेको छ । दङ्गीशरण गाउँपालिका–३ चखौरामा रहेको ‘चखौरा संग्रहालय’ अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक मात्र आउने गरेका छैन बरु अध्ययन अनुसन्धानका लागि पनि विद्यार्थीहरू घुइँचो लाग्न थालेका छन् । थारू जातिको इतिहास र संस्कृति बचाउने उद्देश्यले सञ्चालित सो संग्र्रहालयमा पछिल्लो समय बाह्य पर्यटकसमेत अध्ययन अनुसन्धानका लागि आउने गरेका छन् ।
घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय शिक्षा संकायको कक्षा १२ मा अध्ययनरत विनिता केसी विद्यालयको अध्ययन÷अनुगमनका लागि सो संग्रहालय पुगेकी थिइन् । संग्र्रहालयभित्र प्रवेश गर्ने गेटको अगाडि थारू राज्यका अगुवाको मूर्ति र उनीहरूले शासन गरेको भूगोलको नक्शा देख्दा उनी चाख मानेर हेरिहेकी थिइन् ।
‘यहाँ पुग्दा थारू जातिको पहिचानलाई बचाइ राख्नलाई यो समुदायमा प्रयोग हुने विभिन्न बस्तुको संग्रह गरिएको पाएँ,’ उनले भनिन्, ‘यसरी आफ्नो इतिहासको संरक्षण गरेको देख्दा खुसी लाग्यो ।’ लोप हुन लागेको संस्कृतिसँग जोडिएका थारू समुदायका पुराना सामान, गहना र पोसाक त्यहाँ संरक्षण गरेर राखिएको उनले बताइन् । सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत सुशीला चौधरीले पनि पनि थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता राख्ने ठाउँ देख्दा अचम्म लागेको बताइन् ।
थारू समुदायमा लोप हुन लागेका गरगहना, कपडा र विवाहमा दुलाहा÷दुलही बोक्ने डोलीसमेत संग्र्रह गरेर राखिएको उनको भनाइ छ ।
‘हजुरआमाले आफ्ना पालमा चलन गरिने सामग्रीका बारेका सुनाउने गर्नुहुन्थ्यो, जुन मैले सुनेकी मात्र थिएँ,’ उनले भनिन्, ‘तर यहाँ आएर आफ्नै आँखाले देख्न पाएँ । थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र, संग्रहालय घरको भित्तामा सजिएको पनि उनले जानकारी दिइन् ।
‘इतिहासमा थारू राजाहरूले कसरी राज्य सञ्चालन गरेका रहेछन् भन्ने कुरा यहाँ राखिएका मूर्ति र नक्शाबाट पनि थाहा पाउन सकिन्छ,’ उनले भनिन् । विद्यालयका शिक्षक प्रकाश देवकोटाले विद्यालयमा शिक्षा संकायका विद्यार्थीलाई आन्तरिक पर्यटकीयस्थलको अवलोकन गराएर स्थानीयस्तरमा भएका कला संस्कृतिका बारेमा जानकारी गराउने उद्देश्यले संग्रहालय भ्रमण गराइएको बताए । विद्यार्थीले पुस्तकमा पढेका कुराले मात्रै नपुग्ने भएकाले उनीहरूलाई स्थलगत अध्ययन गराउने गरिएको उनको भनाइ थियो ।
आफ्नै आँखाले देखेका कुरा विद्यार्थीले छिटो सम्झने भएकाले विद्यार्थीलाई अध्ययन र अवलोकन गराउने गरिएको उनले बताए ।
संग्र्रहालयका सह व्यवस्थाक नरेन्द्र चौधरीले पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक अध्ययन अनुगमनका लागि आउने गरेको जानकारी दिए । यो वर्ष मात्रै ३६ जना विदेशी पर्यटक संग्र्रहालय अवलोकनका लागि आएको चौधरीले बताए ।
मुलुकका सबै ठाउँबाट संग्रहालय अवलोकनका लागि पर्यटक यहाँ आउने गरेको उनको भनाइ थियो । यस वर्ष एक लाखभन्दा धेरैले संग्रहालयको अवलोकन गरेको उनले जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेश सरकारबाट दंगीशरण–३ चखौरामा रहेको थारू संग्र्रहालयमा पार्क निर्माणका लागि ५० लाख, मूर्ति निर्माण तथा खरिदका लागि ५० लाख, माथिल्लो तलामा थारू घर तथा विश्राम स्थल निर्माणका लागि ३० लाख रूपैयाँ बजेट छुट्याइएको शनिबार र सार्वजनिक बिदाको दिन धेरै आन्तरिक पर्यटक आउने गरेका छन् ।
यहाँ दैनिक ३ सयदेखि ४ सयको संख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् । साधारण नगरिकलाई ७० र विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई ५० रूपैयाँ प्रवेश शुल्क लिने गरिएको छ । थारू पहिरन लगाएर फोटो खिच्न चाहनेका लागि ड्रेसको १ सय रूपैया थप तिर्नुपर्छ । त्यस्तै, संग्रहालय पछाडि रहेको जलाशयमा डुङ्गा चलाउन ५० लाग्छ । तुलसीपुर उपमहानगरपालिकाबाट ११ किलोमिटर पश्चिममा रहेको चखौरा पुग्न अटो रिक्साको सुविधा छ । अटो रिक्सालाई १ सय दियो भने संग्र्रहालयसम्म पुग्न सकिन्छ ।
पुरानो र नयाँ पुस्ताबीच ठूलो अन्तर रहेकाले पुरानो लोकसंस्कृति पुस्तान्तरण गर्नका लागि थारू संग्र्रहालयले सकारात्मक भूमिका खेलेको थारू संस्कृतिका ज्ञाता अशोक थारूले बताए । ‘संस्कृति हस्तान्तरण नहुँदा लोप हुँदै गएका छन् । यसलाई बचाउन संग्र्रहालयले सहयोग पुगेको छ,’ उनले भने, ‘नयाँ पुस्ताले थाहा नपाएका धेरै कुरा यहाँ संकलन गरिएका छन् । यसले हाम्रो पहिचान सुरक्षित हुनेछ ।’
प्रतिक्रिया दिनुहोस्