कोहलपुर।
कोहलपुर नगरपालिकाको आयोजनामा आयोजित चारदिने सातौं अन्तर मावि मेयर कप तथा १६औं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुक्रबार समापन भएको छ । कोहलपुर खेलकुद विकास समितिको व्यवस्थापन र सञ्चालनमा भएको उक्त प्रतियोगिताको नगर प्रमुख प्रमुख पूर्णप्रसाद आचार्यले समापन गरेका हुन् ।
उनले समापन समारोहलाई सम्बोधन गर्दै अन्तर मावि मेयर कपलाई थप व्यवस्थित र परिस्कृत गर्दै लैजाने प्रतिबद्धता जनाए । कोहलपुर नगरपालिकाको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता भएकाले यसलाई व्यवस्थित र भव्य बनाउँदै लगिने उनको भनाइ थियो । पाठ्यक्रमको ज्ञानले मात्र विद्यार्थी पूर्ण हुन नसक्ने भन्दै उनले अतिरिक्त ज्ञानको आवश्यक जरुरी रहेको बताए ।
‘खेलकुद पनि अतिरिक्त क्रियाकलाप हो उनले भने–‘विद्यालयले पनि यसतर्फ ध्यान दिन आवश्यक छ ।’ उनले आगामी संस्करणमा खेल विधालाई थप गरिने पनि प्रतिबद्धता जनाए । भलिबल, दौड र कबड्डी हुँदै आएकोमा यसपटकदेखि मार्सल आर्ट विधा पनि थपिएको छ । आगामी संस्करणमा अरू विधा पनि थपिने मेयर आचार्यले बताए ।
उनले केही विद्यालयले फर्जी खेलाडी प्रतिस्पर्धीका रूपमा खेलाएको प्रति असन्तुष्टि जनाए । उनले त्यस्ता विद्यालयमाथि कारबाही गरिने उल्लेख गरे । ‘६ वटा विद्यालयले फर्जी खेलाडी खेलाएको भनिएको छ । उनीहरूमाथि छानबिन भइरहेको छ । दोषी प्रमाणित भए उनीहरूलाई अर्काेपटकको संस्करणमा भाग लिन नपाउने गरी कारबाही गरिन्छ,’ उनले भने । पुरस्कार जित्नका लागि फर्जी खेलाडी खेलाउने विद्यालय, शिक्षक, प्रशिक्षकसमेतलाई छानबिन गरेर कारबाही गरिने उनले बताए ।
समापन समारोहलाई सम्बोधन गर्दै नगर उपप्रमुख संगीता सुवेदीले खेलकुदप्रति विद्यार्थीको उत्साहको प्रशंसा गरिन् । उनले खेल क्षेत्रको विकासका लागि कोहलपुर नगरपालिकाले संस्थागत रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले शिक्षासँगै खेलकुदका कार्यक्रमलाई पनि पालिकाले सँगसँगै अगाडि बढाएको उल्लेख गरिन् ।
विजयी खेलाडीहरूलाई नगर प्रमुख, नगर उपप्रमुख, वडाअध्यक्ष, खेल प्रशिक्षकलगायतले मेडल, प्रमाणपत्र तथा पुरस्कार वितरण गरेका थिए । कोहलपुर नगरपालिका–२ तेह्रबिघा खेलमैदानमा भएको प्रतियोगितामा जनप्रतिनिधि, खेलकुदकर्मी, प्रहरी प्रशासन, खेलप्रेमीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्