कोहलपुरमा अन्तर मावि मेयर कप प्रतियोगिता सुरु



कोहलपुर ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मंगलबारदेखि कोहलपुरमा सातौं अन्तर मावि मेयर कप तथा १६औं पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले तेह्रबिघा खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरेका हुन् ।प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले खेलका माध्यमबाट चौतर्फी विकासमा टेवा पुग्ने भएकाले खेलकुदलाई पालिकाले प्राथमिकता दिएको बताए ।

‘खेलकुद प्रतियोगिताले विद्यार्थीको अतिरिक्त क्षमता प्रस्फुटनमा मद्दत गर्छ,’ उनले भने, ‘यसले विद्यार्थीको शारीरिक, मानसिक र संवेगात्मक विकासमा पनि सकारात्मक प्रभाव पार्छ ।’ पालिकाले आयोजना गर्ने यस्ता प्रतियोगिताहरूले व्यावसायिक खेलाडी उत्पादनमा ठूलो भूमिका खेल्ने पनि उनले बताए । उनले खेलकुद प्रतियोगितालाई निष्पक्ष बनाउन पनि प्रशिक्षकहरूलाई आग्रह गरे ।

यस्तै, कार्यक्रममा नगर उपप्रमुख संगीता सुबेदीले कोहलपुर नगरपालिकाले गुणस्तरीय शिक्षासँगै खेलकुदको विकासका लागि पनि पालिकाले जोड दिइरहेको बताइन् । खेलकुदका माध्यमबाट सामूहिक भावनाको विकास हुने र यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ थियो । प्रतियोगितामा कोहलपुर क्षेत्रका सामुदायिक र संस्थागत गरी ३६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा ५० मेडलका लागि १ हजार ३ सय ६७ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम समितिका अध्यक्ष बुद्धिबहादुर थापाको सभापतित्वमा भएको हो । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन आयोजक समितिका सदस्य सचिव वीरेन्द्र मल्लले गरेका थिए ।

उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता १३ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको मार्च पासमा वेष्टर्न ईमी स्कुल प्रथम भएको छ । ३२ विद्यालयले मार्चपासमा प्रतिस्पर्धा गरेकोमा सबैलाई उछिन्दै वेष्टर्न ईमी स्कुल प्रथम भएको हो । यस्तै कोहलपुर ५ मा रहेको पञ्चमुखी ईमी स्कुल र कोहलपुर–१ मा रहेको जन ज्ञानज्योति मावि द्वितीय भएका छन् । यस्तै, कोहलपुर–१२ मा रहेको ग्रिनपिस मावि तृतीय भएको आयोजक समितिका सदस्य सचिव वीरेन्द्र मल्लले बताए ।

प्रकाशित मिति : २०८० पुस ११ गते बुधबार