गणेश रावत। कोहलपुर।
सातौँ अन्तर मावि मेयर कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० आजबाट सुरु हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आजदेखि कोहपुरको तेह्रबिघा खेल मैदामा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्यले गर्नेछन् । सोमबार पत्रकार सम्मेलनमा बोल्दैै मेयर आचार्यले खेलकुदको विकासका निमित्त आफू लागिपरेको बताए । यस प्रतियोगिताले खेलका माध्यमबाट विद्यार्थीलाई स्वस्थ बनाउने र जिल्ला, प्रदेश र केन्द्रीय स्तरमा कोहलपुरका खेलाडी छनोटमा मद्दत पुग्ने उनले दाबी गरे ।
‘मेयर कप व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न सबैको साथ सहयोग आवश्यक छ,’ नगर प्रमुख आचार्यले भने, ‘यसले समाजमा एउटा राम्रो सन्देश दिन्छ ।’ प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड निर्देशिका र कार्यविधिअनुसार सञ्चालन गर्न लागिएको र सबै विद्यालयको यसमा सहमति रहेको उनले बताए ।
कोहलपुर नगरपालिकाको आयोजना र कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापनमा मावि मेयर कप हुन लागेको सोमबार पत्रकार सम्मेलन गर्दै नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए । प्रतियोगितामा कोहलपुर नगरक्षेत्रका सामुदायिक र निजी गरी ३६ माध्यमिक विद्यालय सहभागी हुनेछन् । जसमा १ हजार ३ सय ६७ जना विद्यार्थीहरूले भाग लिने अध्यक्ष थापाले बताए । प्रतियोगितामा ५० स्वर्ण पदक रहेका छन् । प्रतियोगिता प्रवेश शुल्क प्रतिविद्यालय ५ हजार तोकिएको छ ।
अघिल्ला वर्षहरूमा विद्यालयहरूले अन्तर मावि मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको व्यवस्थापन गर्दै आएकोमा यो वर्ष कोहलपुर नगर खेलकुद विकास समितिले व्यवस्थापन गरेको हो । प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कपड्डी र मार्सल आर्ट गरी चार विधा समावेश गरिएको खेलकुद सञ्चालन तथा व्यवस्थापन उपसमितिका सदस्य–सचिव वीरेन्द्रकुमार मल्लले बताए ।
प्रतियोगिताबाट उत्कृष्ट करिब १ सय जना खेलाडी जिल्लामा हुने प्रतियोगिता छनोट गर्ने सदस्य–सचिव मल्लले जानकारी दिए । उनका अनुसार गत वर्ष पनि जिल्लास्तरीय प्रतियोगितामा २१ स्वर्ण, २२ रजत र २९ कास्य पदकसहित कोहलपुर नगरपालिका जिल्ला प्रथम भएको थियो । खेलकुद व्यवस्थापनका लागि खेलकुद विकास समिति अब छिट्टै ऐन बनाउने तयारीमा रहेको र सबै साथ सहयोग रहेको उनले बताए ।
सो प्रतियोगिताका लागि संघ सरकारबाट प्राप्त ससर्त १ लाख र नगरपालिकाबाट १० बजेट छुट्याइएको छ । त्यसैगरी प्रवेश शुल्कबापत उठ्ने १ लाख ८० हजार गरी जम्मा १२ लाख ८० हजार रुपैयाँ बजेट छुट्याइएको छ । खेल उद्घाटन समारोहका अवसरमा मंगलबार नगरपालिकाभित्र रहेका सबै विद्यालय बन्द हुनेछन् । ११, १२ र १३ गते भने आधारभूत तह (१ देखि ८) सम्मका कक्षा भने सञ्चालन हुने र माध्यमिक तह (९ देखि १२) सम्मका कक्षा भने प्रतियोगिताभर बन्द रहने कोहलपुर नगर शिक्षा शाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्