जनआस्था सहकारीको अध्यक्षमा सामन्त निर्वाचित



कोहलपुर।
कोहलपुरस्थित जनआस्था बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १६औं वार्षिक साधारण सभा तथा अधिवेशन आइतबार सम्पन्न गरेको छ । कोहलपुरस्थित प्रबुद्ध ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको सभा हलमा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । साधारण सभाको बन्दसत्रले संस्थाका कार्यकारी निर्देशक विनोदकुमार सामन्तलाई सर्वसम्मत अध्यक्षको नयाँ जिम्मेवारी सुम्पिएको छ ।

एक सदस्य पछि थप्नेगरी निर्वाचित अन्य पदाधिकारीहरूमा उपाध्यक्ष दिलकुमारी चौधरी, सचिव हर्कबहादुर शाही, कोषाध्यक्ष सनतकुमार रेग्मी रहेका छन् । त्यसैगरी, सदस्यहरूमा अमृता वली, शरद कोइराला, मञ्जु कोइराला र लेखनाथ पौडेल निर्वाचित भएको निर्वाचन अधिकृत हुमहरीप्रसाद भट्टराईले बताए । यसैगरी लेखा समिति संयोजकमा विश्व भण्डारी र सदस्यहरूमा हरि पौडेल तथा कल्पना तिमिल्सेना निर्वाचित भएका छन् ।

मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मूल नाराका साथ आयोजित साधारण सभा संस्थाका अध्यक्ष विष्णुप्रसाद बेल्वासेको अध्यक्षता एवम् प्रबुद्ध ज्येष्ठ सेयर सदस्य ज्ञानबहादुर खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको संस्थाका प्रबन्धक प्रमोद रिजालले जानकारी दिए । आर्थिक वर्ष २०७९÷ ८० को संस्थागत प्रगति प्रतिवेदन पेस गर्दै संस्थाका अध्यक्ष बेल्वासेले साना तथा घरेलु उद्योगहरूलाई प्रोत्साहन गर्नेगरी सहकारीले लगानीमैत्री वातावरण तयार पारेको बताए। विपन्न सदस्यहरूको पहिचान गरी उनीहरूको उत्थानका निम्ति विशेष प्याकेजमा कार्यक्रमहरू तय गरिएको उनले बताए । सहकारीले ज्येष्ठ नागरिक सापटी तथा भत्ताको समेत व्यवस्थापन गर्नेगरी कार्ययोजना अघि सारेको उल्लेख गरे ।

संस्थाको आय–व्यय प्रस्तुत गर्दै नवनिर्वाचित अध्यक्ष विनोदकुमार सामन्तले संस्था यो अवधिसम्म आइपुग्दा ४ सय ६० जना सेयर सदस्यमार्फत २७ लाख सेयर पुँजी निर्माण गरी ७६ लाख बचत संकलन गर्न सफल भएको जानकारी दिए । कार्यक्रममा समाजसेवी तथा सेयर सदस्य हरिप्रसाद पौडेल, हुमहरिप्रसाद भट्टराईलगायतले संस्थाको थप प्रगतिको कामना गरेका थिए । संस्थाका सञ्चालक मञ्जु कोइरालाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव तेजप्रसाद भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०८० पुस ९ गते सोमबार