कोहलपुर ।
शुक्रबारबाट कोहलपुरमा सुरु भएको प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता समापन भएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्त्य र प्याब्सन कोहलपुरका अध्यक्ष गोविन्द सुबेदीको सभापतित्वमा प्रतियोगिता समापन भएको हो । समापन समारोहमा बोल्दै मेयर आचार्यले शिक्षा मात्रै नभएर विद्यार्थीहरूको क्षमताको पहिचान गरी उनीहरूका प्रतिभालाई उजागर गर्नुपर्ने बताए । प्रतियोगिताले विद्यार्थीहरूको क्षमता वृद्धि गर्नुका साथै कोहलपुर नगरपालिकामा सक्षम खेलाडी उत्पादन गर्न मद्दत पुग्ने उनको भनाइ थियो ।

प्रमुख आचार्यले आगामी दिनमा पनि खेलकुद प्रतियोगितालाई निरन्तरता दिन आयोजक संस्थालाई आग्रह गरे । प्याब्सन कोहलपुरले संस्थागत विद्यालयहरूको सहभागितामा पहिलोपटक कोहलपुरमा यस्तो खेलकुदको आयोजना गरिएकोमा प्रशंसा गरे । त्यस्तै, आयोजक संस्था प्याब्सन कोहलपुर नगर समितिका अध्यक्ष गोविन्द सुबेदीले विद्यालयहरूको उत्साहपूर्ण सहभागिताले आफूहरूलाई थप ऊर्जा मिलेको बताए । नगरभित्रका संस्थागत विद्यालयहरूको शतप्रतिशत उपस्थितिले आफूहरूलाई उत्साहित बनाएको उनको भनाइ थियो । ‘पहिलो प्रतियोगिता भएकाले यो हाम्रा लागि महत्वपूर्ण सिकाइ पनि भयो,’ उनले भने । उनले प्रतियोगिता मर्यादित र व्यवस्थित रूपले सम्पन्न भएको बताए ।

प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा आठ वटा स्वर्ण पदक जित्दै माध्यमिक तहको रनिङ शिल्ड गोर्खा युनाइटेड पब्लिक स्कुलले प्राप्त गरेको छ । त्यस्तै, द्वितीय डाइनामिक मावि र तृतीय स्थान रामजानकी माविले प्राप्त गरेका छन् । आधारभूततर्फ भने ग्रिनपिस मावि चपरगौढीले शिल्ड उचालेको छ । आधारभूततर्फ द्वितीय रामजानकी मावि कोहलपुर र तृतीय प्रयत्न मावि भएका छन् । गोर्खा युनाइटेडले छात्रातर्फ ८ वटा स्वर्ण र एउटा रजत तथा छात्रतर्फ एउटा रजत र दुईवटा कास्य पदक प्राप्त गरेको छ ।

रनिङ शिल्डमा बैजनाथ र कोहलपुरका २७ विद्यालयका १ हजार बढी विद्यार्थीहरूले विभिन्न खेलमा भाग लिएका थिए । माध्यमिक तहका २० र आधारभूत तहका ७ विद्यालयका छात्र÷छात्राले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । समापन समारोहमा प्रतियोगितामा महत्वपूर्ण योगदान दिएको भन्दै विभिन्न व्यक्तिहरूलाई आयोजकले मायाको चिनो प्रदान गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्