प्रयोगात्मक सिकाइमा जोड दिँदै तक्षशिला एकेडेमी



कोहलपुर ।

कोहलपुरस्थित तक्षशिला एकेडेमीले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि ट्राफिक सचेतना कार्यक्रम गरेको छ । विद्यार्थीहरूलाई फिल्डमै लगेर ट्राफिक नियमसम्बन्धी जानकारी दिइएको एकेडेमीका प्राचार्य भीमबहादुर रोकायले जानकारी दिए ।

विद्यार्थीहरूलाई जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरमै लगेर ट्राफिक संकेत तथा ट्राफिक नियमहरूका बारेमा जानकारी दिइएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुबेदीले उनीहरूलाई ट्राफिक नियमबारे विविध विषयमा जानकारी दिएका थिए । सो अवसरमा ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक सन्तोष गिरीले सहजीकरण गरेका थिए ।

कक्षा १० मा अध्ययनरत् ७० जना विद्यार्थी तथा शिक्षकहरूले सो फिल्ड भिजिटबाट ट्राफिक नियमबारे जानकारी लिएका थिए । फिल्डमै गएर ट्राफिक नियमबारे जानकारी लिन पाउँदा यसबारे धेरै जानकारी हासिल भएको विद्यार्थीहरूले बताए ।

प्रयोगात्मक सिकाइबाट विद्यार्थीहरूले चाँडो र प्रभावकारी रूपमा सिक्न सक्ने भएकाले उनीहरूलाई फिल्डमै लगेर जानकारी दिइएको तक्षशिला एकेडेमीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० पुस ७ गते शनिबार