कौशल्या मेमोरियलद्वारा गेरुवामा निःशुल्क दन्त शिविर



कोहलपुर ।

कौशल्या मेमोरियल अस्पताल हवलदारपुरले बर्दियाको गेरुवा गाउँपालिका–१ मा निःशुल्क दन्त शिविर सञ्चालन गरेको छ । लामो समयदेखि दाँतको समस्या भोग्दै आएका स्थानीयहरूका लागि निःशुल्क एकदिने दन्त शिविर सञ्चालन गरिएको हो ।

रामचरण स्मृति प्रतिष्ठानको अनुरोधमा गेरुवा गाउँपालिमा दाँतको शिविर सञ्चालन गरिएको कौशल्या मेमोरियल अस्पतालका प्रबन्धक चन्द्रबहादुर महतोले जानकारी दिए ।

उनका अनुसार गाउँमा दाँत दुख्ने, कीरा लागेको र गिजा सुनिने समस्या भोग्दै आएका स्थानीय सो शिविरबाट लाभान्वित भएका थिए । दन्त शिविरबाट थोरै भए पनि स्थानीयलाई सहयोग पुगेको प्रबन्धक महतोले बताए ।

गाउँमा दाँत दुख्ने, किरा लागेको, गिजा सुनिएका बिरामीहरू धेरै भेटिएको दन्त विशेषज्ञ डा.विश्वनाथ चौधरीले मिसन टुडेलाई जानकारी दिए । शिविरमा ३ सय ५० जनाले दन्त सेवा लिएको उनले जानकारी दिए ।

दाँतका विभिन्न समस्या झेल्दै आएका ५ देखि ८० वर्ष उमेर समूहका स्थानीयहरूले सो शिविरबाट सेवा लिएका थिए । अघिकांश दाँतका बिरामीमा चेकजाँच गर्दा दाँत कुहिएको भेटिएको डा. चौधरीले बताए । शिविरमा ५० जनाको निःशुल्क रूपमा दाँत उखेल्ने काम पनि गरिएको डा.चौधरीले बताए ।

शिविरमा दन्तसम्बन्धी परामर्श दिइनुका साथै समस्याहरूको पहिचान पनि गरिएको डा. चौधरीले जनाकारी दिए । डा.चौधरीसहित तीन जनाको विशेषज्ञ टोलीले सो शिविरमा दन्त सेवा दिएको थियो । जसमा डा. आरमा जिसी र हरस ससिदसमेत सामेल थिए ।

प्रकाशित मिति : २०८० पुस ६ गते शुक्रबार