बाँसगढी ।
बाँसगढी नगरपालिकामा निर्माणाधीन नगर अस्पलातको काममा ढिलाइ भएको छ । बजेट अभावका कारण काममा ढिलाइ भएपछि नगरपालिकाले आफ्नै स्रोत परिचालन गरेर निर्माणकार्य अगाडि बढाउने निर्णय गरेको छ ।
सो अस्पतालका निर्माणका लागि बाँसगढी नगरपालिकाले चालू आवमा २ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
संघीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रअन्तर्गत निर्माण हुन लागेको सो नगर अस्पतालमा संघबाट समयमा बजेट नआएका कारण ढिलाइ भएको निर्माण कम्पनी महालक्ष्मी जय धनञ्जय यादव जेभीका सञ्चालक भरत पौडेलले जानकारी दिए ।
‘हामीले काम रोकेका छैनौँ, रोक्नुपर्ने अन्य कारण पनि छैन,’ पौडेलले भने, ‘तर समयमै बजेट निकासा नभएका कारण काममा ढिलाइ भएको हो ।’ बजेट अभावकै कारण म्याद थप गर्नुपर्ने अवस्था आएको उनले बताए ।
दुई वर्षमा सम्पन्न गर्नेगरी बाँसगढी नगरपालिकाले ठेकेदार कम्पनी महालक्ष्मी जेभीसँग २०७८ वैखाख ३१ गते ८ करोड ८५ लाख ८२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सो सम्झौता अवधिमा काम नसकिएपछि फेरि एक वर्षका लागि म्याद थप गरिएको छ ।
थपिएको म्यादमा पनि काम सकिने-नसकिनेमा शंकै छ । त्यसमाथि निर्माण लागत पनि बढ्न गएको निर्माण कम्पनीको भनाइ छ । ‘हामीले हाम्रो तर्फबाट समयमै काम सक्ने प्रयास गरिरहेका छौँ,’ निर्माण व्यवसायी पौडेल भन्छन्, ‘बजेटको अभाव भएन भने समयमै काम सकिन्छ ।’ गत वर्ष ढिलोगरी बजेट आएका कारण पूरै रकम खर्च गर्न नसकेर फ्रिज भएको उनले बताए ।
निर्माण कम्पनी महालक्ष्मी जेभीले स्थानीय निर्माण कम्पनी जयबागेश्वरी निर्माण सेवालाई सो संरचना निर्माणको जिम्मा दिएको छ । भवनको फाउन्डेसनदेखि प्लस्टरसम्मको काम जयवागेश्वरीले लिएको छ ।
प्लस्टरबाहेक आफूले जिम्मा पाएको सबै काम सकेको जयबागेश्वरीका सञ्चालक रामप्रसाद थारूले बताए । ‘वायरिङ र प्लम्बिङका कारण प्लस्टरको काममा अवरोध भइरहेको छ,’ उनले भने, ‘अब मेरो जिम्मामा प्लस्टरको काम मात्र बाँकी छ ।’ वायरिङ र प्लम्बिङको काममा ढिलाइ हुँदा आफूले प्लस्टरको काम गर्न नपाएको उनले बताए ।
सम्पूर्ण संरचनाको ढलानको काम सकिए पनि वायरिङ, प्लम्बिङ र फिनिसिङको काम भने बाँकी नै छ । वायरिङको काम पनि सुरु भइसकेको पौडेलले जनाए । नेपालगन्जबाट इलेक्ट्रिसियन बोलाएर काम गराइरहेको उनले बताए । ‘अस्पतालको वायरिङ भएकाले जो पायो उसैले गर्न सक्ने अवस्था रहँदैन,’ उनले भने, ‘त्यसैले भेरी अस्पतालमा वायरिङ गरेका इलेक्ट्रिसियन ल्याएर काम गराउँदै छु ।’
बजेट अभावकै कारण देखाएर ठेकेदार कम्पनीले म्याद थपको माग गरेको बाँसगढी नगरपालिकाले जनाएको छ । ‘हामीले बेलाबेला अनुगमन पनि गरिरहेका छौँ,’ बाँसगढी नगरपालिकाका इन्जिनियर बलराम पौडेलले भने, ‘भवन निर्माणमा ७० प्रतिशत भौतिक प्रगति भएको छ ।’
समयमा बजेट निकासा नभएकै कारण कामले गति लिन नसकेको उनले बताए । यस वर्ष पनि संघ सरकारबाट ९० लाख मात्र बजेट परेकाले नगरपालिकाले आफ्नै बजेटबाट २ करोड रुपैयाँ सो अस्पतालका लागि छुट्याइएको उनले जानकारी दिए ।
पोहोर साल आर्थिक वर्षको अन्त्यतिर बजेट आएका कारण पूरै बजेट खर्च हुन नसकेर फ्रिज भएको बाँसगढी नगरपालिकाका योजना शाखा अधिकृत खड्ग वलीले जानकारी दिए । ‘पोहोर जेठको अन्त्यतिर ३ करोड बजेट आएको थियो,’ अधिकृत वलीले भने, ‘जसमा केही खर्च भयो, केही बजेट भने फ्रिज भएर गयो ।’
ठेकेदार कम्पनीले अहिलेसम्म ४ करोड ७१ लाख भुक्तानी लिएको छ । बाँसगढी नगरपालिका–५ स्थित बाँसगढीमा १५ शय्याको साढे तीन तलाको सो अस्पताल निर्माणाधीन छ । सो अस्पताल अत्याधुनिक सुविधासम्पन्न हुनेछ ।
अपाङ्गमैत्री हुनुका साथै अस्पतालमा छुट्टै ल्याब, लिफ्ट, अपरेसन थिएटर, इमर्जेन्सी कक्षसहितको संरचना निर्माण हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्