तरकारी खेतीबाट आत्मनिर्भर महिला



दाङ ।

बिहान ४ बजेदेखि नै तुलसीपुरका विभिन्न चोकमा कठ्यांग्र्रिने चिसोको परवाह नगरी छिटुवामा सागसब्जी राखेर ग्राहकको प्रतीक्षामा बसेका भेटिन्छन् दाङका थारू महिला । तुलसीपुर बजारका चोकचोकमा किसानहरू आफूले उत्पादन गरेका कृषिउपज लिएर बिक्रीका लागि ग्राहकको प्रतीक्षामा भेटिन्छन् ।

चिसो सडकमा ग्राहकको पर्खाइमा बस्नेमध्येकी एक हुन् तुलसीपुर उपमहानगरपालिका–१० पड्डाकी ४० वर्षीया रामकुमारी चौधरी । उनी व्यावसायिक रूपमा काउली र आलुखेती गरेर आत्मनिर्भर छिन् । उनी भन्छिन्, ‘सडकमा बसेर सागपात बिक्री गर्न थालेको वर्षौं बित्यो । यसबाटै जीवन गुजारा भएको छ । कृषिकर्मबाट राम्रो आम्दानी भएको छ ।’

गाउँबाट राति २ बजे नै छिटुवा बोकेर कहिले पैदल त कहिले अटो चढेर आउने रामकुमारी पनि सडकमा कृषि उपज बेचेर आत्मनिर्भर भएकी छन् । दैनिक गर्जो टार्न र आफ्ना छोराछोरीलाई कापीकलम किन्न उहाँको कृषि आम्दानीले थेगेको छ ।

पाँचदेखि कठ्ठा जमिनमा गरिने मौसमी र बेमौसमी खेतीबाट उनले वार्षिक २ देखि साढे २ लाखसम्म बचत गर्दै आएको सुनाइन् । बचत रकमबाट नै उनले मल बीउबिजन, किटनाशक औषधि खरिद गर्दै आएकी छन् ।

त्रिपन्न वर्षीया आश्मानी चौधरीले पनि आफूलाई व्यावसायिक खेतीमा आफूलाई सक्रिय राखेकी छन् । पन्ध्र कट्ठा जमिनमा चमसुर, पालुंगो, गोलभेँडा फलाउने उनी धानभन्दा सागसब्जी उत्पादनबाट राम्रो आम्दानी लिन सफल भएको बताउँछिन् । उनले गत वर्ष ३ लाख आम्दानी गरेको बताइन् ।

प्रकाशित मिति : २०८० पुस २ गते सोमबार