नेपालगन्ज ।
‘जाउँ है पोखरा’का अभियन्ताले नेपालगन्जमा आइतबार छलफल गरेका छन् ।
उक्त छलफलमा नेपालगन्ज पोखरा ‘टुरिजम कनेक्टिभिटी’का बारेमा विभिन्न क्षेत्रका अगुवाले मन्तव्य राखे । उनीहरूले नेपालगन्ज–पोखराबीच पर्यटन उद्योग बढोत्तरी गर्नका लागि रणनीति बनाउनुपर्नेमा जोड दिए ।
पर्यटन बोर्ड गण्डकी र होटल संघ पोखराले सुरु गरेको ‘जाउँ है पोखरा’ अभियानले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा उक्त छलफल भएको हो ।
होटल संघ बाँके शाखाका वरिष्ठ उपाध्यक्ष केशव न्यौपानेका अनुसार यहाँका पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग अन्तरक्रिया गरियो जहाँ नेपालगन्ज र पोखराबीच नेपालगन्ज–पोखरा ‘टुरिजम कनेक्टिभिटी’ बढाउने उपायका बारेमा विभिन्न क्षेत्रका व्यक्तिले आ–आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
कोभिड–१९ को महामारी, आर्थिक मन्दीलगायत कारणले प्रभावित पोखराको पर्यटनलाई पुनः चलायमान बनाउने उद्देश्यका साथ आगामी पुस ४ गतेसम्म पश्चिम नेपालका विभिन्न सहरमा प्रवर्धनात्मक कार्यक्रम गरिने संघका अध्यक्ष लक्ष्मण सुबेदीले बताए ।
पोखराका पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित २० सदस्यीय टोली अभियानमा सहभागी छन् । अभियानले पर्यटनमा साझेदारी बढाउँदै पर्यटकीय गतिविधि वृद्धिमा योगदान गर्ने विश्वास पोखराका पर्यटन उद्यमीले गरेका अध्यक्ष सुबेदीले बताए ।
अभियानअन्तर्गत भैरहवा, नेपालगन्ज, धनगढी र महेन्द्रनगरमा त्यहाँका पर्यटनसम्बद्ध पदाधिकारी, पर्यटन व्यवसायीसँग छलफल गरिने भएको छ । दुुई दशकयता बर्सेनि ‘जाउँ है पोखरा’ अभियान आयोजना हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्