बाँके ।
बाँके जिल्लामा अर्को फुट्सल पनि सञ्चालनमा आएको छ । आइतबारदेखि बागेश्वरी फुट्सल एन्ड स्पोर्टस् हब सञ्चालनमा आएसँगै जिल्लामा फुट्सलको संख्या तीन पुगेको हो । तीनवटै फुट्सल नेपालगन्जमा रहेका छन् । जसमध्ये बागेश्वरी फुट्सल एन्ड स्पोर्टस् हब जिल्लाकै सबैभन्दा ठूलो फुट्सल रहेको जनाइएको छ ।
बागेश्वरी फुट्सलका अध्यक्ष प्रितम विष्टका अनुसार बागेश्वरी फुट्सलको आकार २० इन्टु ३८ मिटर रहेको छ । जुन नेपालगन्जमा रहेका अन्य फुट्सलभन्दा ठूलो हो । ‘हामीले नेपालगन्जमा केही नयाँ गरौंं भनेर स्वास्थ्यका लागि खेलकुद नारा राखेर बागेश्वरी फुट्सल सुरु गरेका छौं र नेपालगन्जमा रहेका अन्य फुट्सलभन्दा पनि यो ठूलो छ,’ अध्यक्ष विष्टले भने ।
विष्टले हालसम्म बागेश्वरी फुट्सलमा ७० लाख रुपैयाँको लगानी भइसकेको बताउँदै बाँकी केही संरचना निर्माण गर्नका लागि थप रकम खर्च हुने बताए । हाल बागेश्वरी फुट्सलमा खेल मैदानसँगै शौचालय, चेन्जिङ कोठालगायतका संरचना निर्माण भइसकेको उनले बताए ।
आइतबारदेखि सञ्चालनमा आएको बागेश्वरी फुट्सलको उद्घाटन नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टले गरेका छन् । विष्टले रिबन काटेर बागेश्वरी फुुट्सलको उद्घाटन गर्दै फुट्सल खेलेका थिए ।
सो क्रममा विष्टले नेपालगन्जमा फुट्सलप्रति युवाहरूको आकर्षण बढ्दै गएको बताउँदै ‘स्वास्थ्यका लागि खेलकुद’ नारालाई बागेश्वरी फुट्सल एउटा खुट्किलो बनेको बताए । उनले नेपालगन्जसँगै समग्र जिल्लालाई बागेश्वरी फुट्सलले समेट्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।
बागेश्वरी फुट्सलले नियमित फुट्सल खेल्न आउनेहरूका लागि प्रतिव्यक्ति मासिक २ हजार र समूहका लागि २२ हजार रुपैयाँ मासिक शुल्क तोकेको छ । साथै उद्घाटनको अवसरमा आयोजकले फुट्सल प्रतियोगिता आयोजना गर्नुका साथै छुटको पनि व्यवस्था गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्