राजस्व कोहलपुरमा ल्याइयो सशस्त्रले नियन्त्रणमा लिएको ट्रक



शुक्रबार दिउँसो नेपालगन्जको न्युरोडबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको मालबाहक ट्रकलाई व्यवसायीहरूले विरोध जनाउँदै अवरोध पु¥याएपछि राति साढे १० बजेमात्र राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पु¥याइएको थियो । ट्रकमा रहेको मालसामानबारे राजस्व अनुसन्धानले आज आइतबारबाट मात्रै अनुसन्धान प्रक्रिया अगाडि बढाउनेछ ।

बाँके ।

शुक्रबार सशस्त्र प्रहरी बलले सामानसहित नियन्त्रणमा लिएको भारतीय नम्बर प्लेटको ट्रकलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरको जिम्मा लगाएको छ । भन्सार भएर आएको मालबाहक ट्रकलाई गोदाममा सामान अनलोड गर्न नपाउँदै थप अनुसन्धान गर्नुपर्ने भन्दै सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपालगन्ज भन्सारबाट शुक्रबार नै पास भएको ट्रकमा कैफियत रहेकाले अनुसन्धान गर्नुपर्ने भन्दै सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि व्यवसायीहरूले विरोध जनाएका थिए ।

मालबहाक ट्रकलाई अनुसन्धान कार्यालय लैजानका लागि विरोध गरिरहेका व्यवसायीहरूलाई न्युरोडमा सशस्त्र र नेपाल प्रहरीले बल प्रयोग गरेको थियो ।

व्यवसायीहरूले अनुसन्धान गर्नुपर्ने भए ट्रकलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुर नभएर नेपालगन्ज भन्सार कार्यालयमा लैजानुपर्ने दबाब दिएका थिए । न्युरोडबाट कोहलपुरमा ल्याइँदै गरेको मालबाहक ट्रकलाई फेरि व्यवसायीहरूले पुष्पलाल चोकमा रोकेका थिए ।

ट्रकमा भन्सार जाँचपाससम्बन्धी केही कैफियत रहेको सूचना आएपछि सशस्त्रले मालबाहक ट्रकलाई नियन्त्रणमा लिएपछि सशस्त्र र व्यवसायीहरूबीच विवाद भएको थियो ।

विवादकै बीच शुक्रबार राति करिब १० बजे पुष्पलाल चोकबाट मालबाहक ट्रकलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । ‘राजस्व चुहावट नियन्त्रणसम्बन्धी आफूहरूको कारबाही सफल भएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मालबाहक ट्रक राजस्व अनुसन्धान कार्यालय कोहलपुरलाई बुझाइएको छ ।’

प्रजिअ पोखरेलले यससम्बन्धी नतिजा सार्वजनिक गर्ने र कम्तिमा राम्रोलाई राम्रो भन्ने सोचको विकास गर्नसमेत सबैलाई आग्रह गरेका छन् ।
ट्रकलाई नियन्त्रणमा लिएको थाहा पाउनेबित्तिकै नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीसहितका व्यापारीले मालबाहक ट्रक राजस्व अनुसन्धान कोहलपुर लैजान दिएका थिएनन् ।

संघको अगुवाइमा व्यापारीहरू सडकमै धर्ना बसेका थिए । सो धर्नामा भन्सार भएर आएको ट्रकमा कैफियत भए पुनः भन्सार लगेर छानबिन गर्नुपर्ने माग व्यवसायीले गरेका थिए । भन्सार भएर आएको ट्रकमा कैफियत भएमा व्यवसायी मात्र दोषी नभई जाँचकी, पास गर्ने कर्मचारी पनि दोषी हुने भएकाले पुनः भन्सार कार्यालय लगेर जाँच गर्नुपर्ने आफूहरूको माग रहेको संघका अध्यक्ष टंकबहादुर धामीले बताए ।

‘भन्सार भएर आएको ट्रकमा कैफियत भएमा व्यवसायी मात्र दोषी नभई जाँचकी, पास गर्ने कर्मचारी पनि दोषी हुने भएकाले पुनः भन्सार कार्यालय लगेर जाँच गर्नुपर्ने आफूहरूको माग थियो,’ उनले शुक्रबार राति पुष्पलाल चोकमा भनेका थिए, ‘सत्यतथ्य र निपष्क्ष अनुसन्धानका लागि मालबाहक ट्रकलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरको जिम्मा लगाएका छौं ।’

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ट्रकमा जाजरकोट भूकम्पपीडितका लागि कम्बल रहेको बताइएको छ । शुक्रबार राति साढे १० बजे कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालयमा ल्याइएको मालबाहक ट्रकमा रहेको सामानबारे आजदेखि मात्रै अनुसन्धान अगाडि बढ्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०८० पुस १ गते आइतबार