भैलीबाट उठेको रकम भूकम्पपीडितलाई सहयोग



नेपालगन्ज ।

नेपालगन्ज–१८ पशुपतिनगर र अमरनगरका स्थानीयले देउसी भैलोबाट संकलन गरेको पैसा भूकम्पपीडितलाई सहयोग गरेका छन् । कात्तिक १७ गते शुक्रवार राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पपीडितलाई २५ हजार ५१ रुपैयाँ सहयोग गरिएको हो ।

भैलो समितिका पदाधिकारीसहित समितिका संयोजक तिलकबहादुर गिरीबाट उक्त रकम राहत कोषको खातामा जम्मा गरी सोको भौचर बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलाई हस्तान्तरण गरिएको थियो ।

उक्त रकम दूरदराजका भूकम्पपीडितसम्म पुगोस् भन्ने अपेक्षा रहेको उनीहरूको भनाइ छ ।

समितिले कोष रकमबाट टोलमा रहेको शिव मन्दिरमा ५ हजार सहयोग गरेको छ ।

साथै पहिले पनि कोषबाट विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको र भविष्यमा पनि समाजमा विपत्मा परेका, गरिब, असहाय र बालबालिकालाई सहयोग गर्ने र कोषलाई अझ थप बलियो र व्यवस्थित बनाउँदै लैजाने अध्यक्ष गिरीले बताए ।

प्रकाशित मिति : २०८० मंसिर २९ गते शुक्रबार