14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

रारामा जोखिमपूर्ण डुंगा यात्रा गर्न बाध्य पर्यटक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २९, २०८०  

मुगु ।

नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारामा पर्यटक जोखिमपूर्ण डुंगा यात्रा गरी पर्यटक रमाउने गरेका छन् । मुगुको छायानाथ रारा नगरपालिका–९ मा अवस्थित रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक तालमा डुंगा चढेर वारपार गरी रमाउने गरेका हुन् ।

डुंगामा सवार गर्दा सुरक्षाका लागि प्रयोग गरिने लाइफ ज्याकेट पुरानो भएर झुत्रा हुँदा पनि प्रयोग भइरहेकाले पर्यटक जोखिम मोलेर तालको यात्रा गर्न बाध्य छन् ।

चितवनबाट रारा तालमा घुम्न आएका ¥याफ्टिङ गाइड सुकबहादुर गुरुङले भने, ‘तालमा डुंगाबाट यात्रा गर्नेले ज्यानको जोखिम मोलेर गर्नुपर्ने रहेछ । यात्रुले प्रयोग गर्दै आएका लाइफ ज्याकेट सबै पुराना भइसकेका छन् । एक पटकमा १० जनासम्म बोक्ने डुंगाको क्षमता भए पनि यहाँ १४÷१६ त कहिलेकाहीँ २० जनासम्म राखेर सवार गरिएको छ ।’

क्षमताभन्दा बढी यात्रु सवार हुँदा दुर्घटनाको जोखिम बढेको गुरुङले बताए । ‘लाइफ ज्याकेट कुनैका खोल च्यातिएका, पेट र छातीमा बाँध्ने फिता नभएका अवस्थामा छन्,’ उनले भने, ‘यसले कुन बेला दुर्घटना निम्त्याउँछ । सम्बन्धित निकायले बेलैमा यसतर्फ ध्यान दिनुपर्ने जरुरी छ ।’ यात्रुलाई भरपर्दो र गुणस्तरीय लाइफ ज्याकेट नहुँदा भगवान्को भरोसामा तालमाथि यात्रा गर्नुपर्ने बाध्यता रहेको ¥याफ्टिङ गाइड गुरुङको भनाइ थियो ।

‘म ८० जनाको टिम लिएर रारा आउँदै छु । यस्तो अवस्था देखे के भन्लान् ? समयमै लाइफ ज्याकेट मध्यवर्ती क्षेत्र वा निकुञ्ज कार्यालयले फेर्नुपर्ने देखिएको छ,’ पर्यटन घुमाउन ल्याउनुपूर्व व्यवस्थापनका लागि रारा पुगेका पर्यटन व्यवसायी डम्बर थापाले भने । यहाँका ज्याकेट तीन वर्षसम्म प्रयोग गर्न मिल्ने खालका रहेछन् भन्दै उनले यात्रुलाई सान्त्वना दिने खालका मात्रै रहेका बताए ।

रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये दिनमा एक सयभन्दा बढीले तालको मिलिचौरदेखि हुटुसम्म डुंगा चडेर यात्रा गर्ने रारा राष्ट्रिय मध्यवर्ती क्षेत्र विकास समितिले जनाएको छ । नाम बताउन नचाहने डुंगा चालक भन्छन्, ‘यहाँका डुंगा चालकले बिना तालिम अनुभवका आधारमा चलाउँदै आएका छौँ । लाइफ ज्याकेटका बारेमा निकुञ्ज र मध्यवर्ती समितिलाई जानकारी गराएका छौँ तर सुनुवाइ भएको छैन ।’

समितिका कार्यालय सचिव लोकेन्द्र बमले कार्यालयको तथ्यांकअनुसार हालसम्म ७० वटा लाइफ ज्याकेट र आठ डुंगा रहेको जानकारी दिए । ‘निकुञ्जले ज्याकेट खरिद गरेको छ/सात वर्ष पुगिसकेको छ,’ उनले भने, ‘कार्यालयले पनि यात्रुको सुरक्षाका लागि लाइफ ज्याकेटसम्बन्धी गुणस्तरीय चेकजाँच गरेको छैन ।’ डुंगाको संख्या कम भएकाले बढी यात्रु राख्नुपर्ने बाध्यता रहेको सचिव बमको भनाइ थियो ।

निकुञ्जका प्रमुख राजु घिमिरेले केही कुरामा सत्यता भए पनि बाहिर आएजस्तो सबै सत्यता नभएको बताए । सेवाग्राहीबाट आएका गुनासोलाई सकारात्मक सुझावका रूपमा लिँदै छिटो गुनासो सम्बोधन गरी रारा घुम्न आउने पर्यटकलाई भरपर्दाे र सुरक्षित यात्राको अनुभूति दिलाउने उनको भनाइ थियो ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २९, २०८०     2:42:33 PM  |