नेपालगन्जमा हुँदै ‘आमा सेमिनार’



नेपालगन्ज ।

मानव सेवा आश्रम नेपालगन्ज शाखाले ‘आमा सेमिनार’ गर्ने भएको छ ।

मानवता प्रवर्द्धन कार्यक्रम अन्तरगत यही मंसिर २७ गते उक्त कार्यक्रम गर्न लागेको हो । मानव सेवा आश्रम नेपालगन्ज शाखामा आयोजित पत्रकार सम्मेलनमा आश्रमका केन्द्रीय महासचिव सुशिला केसी ‘रुपा’ ले बुधबार दिउँसो ३ बजेदेखी बेलुकी ६ बजेसम्म स्थानीय क्यु.एफ.एक्स. सिनेमा हलमा आमा सेमिनार चल्ने बताइन् ।

मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र, प्रेम र आफुलाई जन्मदिने माता पिताको महत्व बोध गराई, प्रेम, सद्भाव, करुणालाई जन जनमा, मन–मनमा पु¥याउने उद्देश्यले सेमिनार आयोजना गरिएको आश्रमले जनाएको छ । देशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पना गरी सेवा गरिरहेको आश्रमले उक्त सेमिनार बाँके जिल्लालाई केन्द्र बनाई जिल्लास्थित सम्पूर्ण जनप्रतिनिधिलाई कार्यक्रममा सहभागी गराउने जनाएको छ ।

मानव सेवा आश्रम नेपालगन्जका संयोजक उर्विण सापकोटाले मान्छेमा आमा बुवाप्रति प्रेम हराउँदै गइरहेको अवस्थामा आमा सेमिनार गर्न लागिएको बताए । ‘छोरा छोरीहरू जागिर र पैसालाई खुसी ठानेर अगाडी बढ्दै जाँदा आमा बुवाहरू घरमा एक्लै हुने र कमजोर हुदै जाने अवस्था छ,’ उनले भने ‘जन–जननमा मानवता प्रवर्द्धन गर्नका लागि यो आमा सेमिनार गर्न गइरहेका छौं ।’

उक्त कार्यक्रममा आमा समुह, टोल विकास समिति, युवा समुह वा क्लब, शिक्षक, शिक्षिका, विद्यार्थी, कर्मचारी, धार्मिक तथा आध्यात्मिक संघ, संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका, सञ्चारकर्मी समेतलाई समेटेर ३ सय जनाले सहभागिता जनाउने भएका छन् । मानवता अध्ययन केन्द्रको व्यवस्थापनमा हुन लागेको सेमिनार निःशुल्क हुने बताइएको छ ।

सहभागीले आश्रमका लागि वा अन्य स्थानमा यस्तै कार्यक्रम सञ्चालन गर्नका लागि स्वइच्छाले दान गर्न सक्नेछन् । आश्रमको केन्द्रीय कार्यक्रम अन्तरगत यसवर्ष ४५ स्थानमा आमा सेमिनार गर्ने योजना अनुरुप पर्सा, लमजुङ, हेटौंडा, दाङ लगायतका स्थानमा कार्यक्रम गरिसकेको छ ।
आश्रमको नेपालगन्ज शाखामा अहिले ५० जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये १२ जना महिला र ३ जना बालबालिका रहेका छन् ।

प्रकाशित मिति : २०८० मंसिर २५ गते सोमबार