नेपालगन्जमा बन्दै ‘ट्रान्सपोर्ट भिलेज’



मुख्य सडकमा सामान ढुवानीका सवारी साधन रोक्न कडाई गरिएसँगै ढुवानी व्यवसायीहरूले नेपालगन्जमा ‘ट्रान्सपोर्ट भिलेज’ निर्माणको तयारी थालेका छन् । यसका लागि दिर्घकालिन रूपमा हुनेगरी उनीहरूले उपमहानगरसँग जग्गा समेत मागेका छन्, तर उपमहानगरले अहिलेसम्म जग्गा उपलब्ध गराउन सकेको छैन ।

नेपालगन्ज ।

ढुवानीका साधनले गर्दा नेपालगन्जको व्यस्त सुर्खेतरोड सधैँ अस्तव्यस्त देखिन्छ । सडकको शौन्दर्य त छदँै छ ट्राफिक व्यवस्थापन समेतमा असर परेपछि दुर्घटनाहरू समेत भइरहेका छन् । यस्तो हुन नदिन प्रहरी, प्रशासन र नेपालगन्ज उपमहानगरपालिकाले मुख्य सडकमा ढुवानीका साधन पार्किङ गर्न रोक लगाएपछि व्यवसायीले वैल्कपिक उपाय खोज्न थालेका छन् ।

सोही क्रममा व्यवसायी स्वयम्ले ट्रान्सपोर्ट भिलेजको अवधारणा अगाडि सारेका हुन् । ढुवानी व्यवसायीहरूको संगठन भेरी ढुवानी संघका अध्यक्ष त्रियोगी अग्रवालले व्यवसायी स्वयम्ले पनि अहिलेको जसरी सडकमा ढुवानीका साधन पार्किङ गर्न नचाहेको बताए ।

त्यसैले सबै ढुवानीका साधन राख्न मिल्ने गरी ट्रान्सपोर्ट भिलेज निर्माणको योजना बनाइएको हो । अध्यक्ष अग्रवाल भन्छन्, ‘विकल्प नभएका कारण ढुवानीका साधन सडकमा पार्किङ गरिएका हुन् । अब हामी यो परिस्थिति अन्त्य गर्ने गरी ट्रान्सपोर्ट भिलेज बनाउन लागिपरेका छौं ।’

ट्रान्सपोर्ट भिलेजलाई दीर्घकालीनरूपमा व्यवस्थापन गर्नका लागि नेपालगन्ज उपमहानगरपालिकासँग सहयोग मागिएको छ । नगर प्रमुख प्रशान्त विष्टसमक्ष संघले यो प्रस्ताव राखे पनि जग्गाको व्यवस्थापन कहाँ गर्ने भन्ने टुंगो लाग्न नसकेका कारण निर्माणको काम अगाडि बढ्न सकेको छैन । अध्यक्ष अग्रवालका अनुसार, रिक्सा र ढुवानीका साधनको पार्किङका लागि नगर प्रमुख विष्ट दीर्घकालीन योजना बनाउने विषयमा सकारात्मक रहेका छन् ।

पछिसम्मका लागि हुने गरी जग्गा व्यवस्थापन नभएपछि तत्कालको काम टार्न संघले वाटरपार्कमा रहेको जग्गा भाडामा लिएर काम सुरु गर्ने तयारी गरेको छ । त्यहाँ रहेको २० कठ्ठा जग्गा भाडामा लिएर ट्रान्सपोर्ट भिलेज बनाउने गरी आफूहरू अघि बढेको संघका सचिव रामचन्द्र भामले जानकारी दिए ।

बुटवलमा ढुवानी ग्राम अर्थात् ट्रान्सपोर्ट भिलेजको अवधारणा कार्यान्वयन भएको ढुवानी व्यवसायी महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष माधव नेपाल बताउँछन् । बुटवल उपमहानगरपालिकाले व्यस्त बजार क्षेत्रमा रहेका ढुवानी व्यवसाय (ट्रान्सपोर्ट)लाई एकै स्थानमा व्यवस्थित गर्ने योजना अघि सारेको थियो ।

ट्रान्सपोर्ट भिलेज निर्माणका लागि बुटवल उपमहानगर र रुपन्देही परिवहन प्रालिबीच सहकार्य भई सम्झौता भएको थियो ।

सम्झौताअनुसार यो कम्पनीले एक वर्षभित्र भिलेज बनाइसक्नेछ र १५ वर्षपछि उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ । वडा नं. १२ नयाँगाउँको भैरहवा भन्ने स्थानमा बन्ने ट्रान्सपोर्ट भिलेजमा ४९ सेड निर्माण हुनेछन् । ट्रान्सपोर्ट भिलेजको अनुमानित लागत २३ करोड २४ लाख ७९ हजार ६ सय ७४ रुपैयाँ रहेको रहेको छ ।

एउटा सेड १५५० वर्गफुट क्षेत्रफलको हुनेछ । हरेक सेडको मासिक भाडा प्रति वर्गफुट दुई रुपैयाँका दरले ३ हजार १ सय हुनेछ । बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने पनि सम्झौतामा तोकिएको छ ।

साथै ट्रान्सपोर्ट भिलेजमा पार्किङ स्थल, व्यावसायिक भवनसहित दुई वटा होटल, मन्दिर, हेल्थपोस्ट, टायर मर्मत सम्भार पसल, प्रतिक्षालय, प्रहरी चौकी पनि हुनेछ । सम्झौताअनुसार ट्रान्सपोर्ट भिलेजका लागि पहुँचमार्ग, ढल, बिजुली, पानी, शौचालयलगायतका संरचना उपमहानगरपालिकाले बनाउनेछ ।

यस्तै योजना नेपालगन्जमा सम्भव भएको वरिष्ठ उपाध्यक्ष नेपालले बताए । उनले भने, ‘नेपालगन्जका मेयरज्यूसँग पनि संवाद भएको छ । मलाई आशा छ यहाँ पनि यो काम बन्नेछ ।’

ढुवानी ग्राम निर्माणलगायतका विषयमा बुधबार नेपालगन्जमा व्यवसायीहरूबीच छलफल भएको छ । उक्त छलफलमा बोल्दै संघका केन्द्रीय अध्यक्ष विश्वनाथ खनालले व्यवसायीहरूका समस्या समाधानका लागि आफूहरू केन्द्रित रहेको बताएका थिए ।

प्रकाशित मिति : २०८० मंसिर २१ गते बिहीबार