खाद्यद्वारा बाँकेमा ४ हजार क्विन्टल धान खरिद



नेपालगन्ज ।

नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म ४ हजार क्विन्टल धान खरिद गरेको जनाएको छ । बाँकेमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएकोमा उक्त परिणामको धान खरिद गरिएको खाद्यका प्रमुख रामशरण लामिछानेले बताए ।

मंसिर ६ गतेबाट कम्पनीले धान खरिद सुरु गरेकोमा १० दिनको अवधिमा ४ हजार क्विन्टल धान खरिद गरिसकेको हो । लामिछानेका अनुसार, हालसम्म ६ सय ८० क्विन्टल मोटो धान र ३ हजार ३ सय २० क्विन्टल मध्यम धान गरेर हालसम्म ४ हजार क्विन्टल धान खरिद गरिएको छ ।

प्रमुख लामिछानेले दिनदिनै धान बिक्री गर्न आउने किसानको संख्या बढ्न थालेपछि हालसम्म दुईवटा तराजु लगाएर खरिद सुरु गरिएकोमा अबदेखि तराजुको संख्या बढाएर चार वटा गरिने जानकारी दिए ।

एक जना किसानबाट ४० क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर खरिद गर्ने कार्य भइरहेको जनाउँदै अहिले दैनिक १५ देखि १८ जना किसानको धान खरिद गरिरहेको पनि बताए ।

यस वर्ष नेपालगन्जमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएकोमा ३३ हजार क्विन्टल मोटा र १८ हजार क्विन्टल मध्यम धान खरिद गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । कार्यालयका अनुसार गैरकृषकले धान बेच्ने अवस्था नआओस् भन्नका लागि वास्तविक किसानको पहिचान हुने गरी पालिकाबाट सिफारिस लिएर धान बिक्रीका लागि आउन अनिवार्य गरिएको छ ।

सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय ९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपियाँ कायम गरेकाले सोही मूल्यमा खाद्य व्यवस्था कम्पनीले धान खरिद गरिरहेको छ । कम्पनीको कारकाँदोस्थित गोदाम र कार्यालयको प्राङ्गणमा धान बिक्री गर्न आएका अधिकांश किसानले कम्पनीले ढिला गरी खरिद सुरु गरेकाले घाटा लागेको प्रतिक्रिया दिए ।

धान बिक्रिका लागि आएका जानकी–३ का किसान रमेश बर्माले धान खरिद निकै ढिला सुरु गरिएको गुनासो गर्दै अलि पहिले खरिद सुरु गरेको भए धेरै किसानलाई राम्रो मूल्य प्राप्त हुने र घाटा व्यहोर्नु नपर्ने बताए ।

यस वर्ष तोकिएको कोटा ५१ हजार क्विन्टल धान खरिद नभएसम्म खरिद जारी राखिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर १८ गते सोमबार