चोरीको मोटरसाइकलको स्वरूप नै फेरेर बिक्री



नेपालगन्ज ।

चोरले चोरीका मोटरसाइकलको स्वरूप नै फेरेर बेच्दै आएको फेला परेको छ । नेपालगन्ज उपमहानगर क्षेत्रमा पछिल्लो समय मोटरसाइकल तथा स्कुटर चोरीका घटना बढेपछि प्रहरीले गरेको अनुसन्धानबाट यस्तो तथ्य खुलेको हो ।

उपमहानगर क्षेत्रमा दिनहुँजसो स्थानीय बासिन्दाका घर, पसल तथा कार्यालयअगाडि पार्किङ गरेर राखिएका मोटरसाइकल तथा स्कुटर चोरी हुने गरेका छन् ।

दिनहुँ मोटरसाइकल तथा स्कुटर चोरी हुन थालेपछि नेपालगन्ज उपमहानगरबासी आतंकित भइरहेका छन् । पीडितले दिनहुँ जिल्ला प्रहरी कार्यालय बाँकेमा चोरीका घटना टिपाउने गरेका छन् । चोरी नियन्त्रणमा आउन नसकेपछि बाँके प्रहरीलाई यतिखेर टाउको दुखाइ भइरहेको छ ।

शृंखलाबद्ध रूपले चोरी भइरहँदा पनि प्रहरीले नियन्त्रण गर्न नसकेको भन्दै स्थानीय बासिन्दा असन्तुष्ट भएका छन् । चोरीका घटना भइरहँदा बाँके प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज उपमहानगरपालिका–८ बस्ने २३ वर्षका अजयसिंह बाडिया र वडा नम्बर ९ का २० वर्षीय रमेश भन्ने हरि सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–८ निवासी अहतर हुसेन फारुकीले आफ्नो मोटरसाइकल चोरी भएको सूचना प्रहरीलाई दिएका थिए ।

उक्त मोटरसाइकल खोज्ने क्रममा बुधबार (मंसिर १३ गते) नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित जनता ग्यारेज अगाडिबाट चोरी गरेको मोटरसाइकलको रङ परिवर्तन गरी प्रयोग गरिरहेको अवस्थामा दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोटरसाइकलको स्वरूप परिवर्तन गरेर चलाइएको पाइएको प्रवक्ता डाँगीले बताए ।

अभियुक्तविरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको प्रवक्ता डाँगीले बताएका छन् । दुवै अभियुक्तलाई मुलुकी अपराध संहिता २०७४ को दफा २४२(२) बमोजिम २ वर्ष सम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर १६ गते शनिबार