12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

ट्राफिकले विद्यार्थीलाई आफैँ बाटो कटाइदिन्छन्

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर १६, २०८०  

नेपालगन्ज ।

हरेक दिन बिहान स्कुल खुल्ने र दिउँसो छुट्टी हुने समयमा कोहलपुर त्रिभुवन उच्च माध्यमिक विद्यालय अगाडिको सडकमा ट्राफिक प्रहरी खटिन्छन् ।

ठूला साना सवारीलाई रोकिन इसारा गर्छन् र स्कुल आएका विद्यार्थीलाई बाटो कटाइदिन्छन् । ट्राफिक प्रहरीको उपस्थितिमा विद्यार्थीहरू निसङ्कोच स्कुल आउने र जाने बेला सडक पार गर्छन् ।

उक्त स्कुलमा पढ्ने अधिकांश विद्यार्थीको प्रतिक्रिया छ, ‘पहिला बाटो काट्नै डर थियो । अहिले हामीलाई कुनै डर छैन । ट्राफिक प्रहरीले सजिलो बनाइदिनुभएको छ ।’ ट्राफिक प्रहरीका असई मदनसिंह महतराका अनुसार स्कुल लाग्ने समय बिहान ९ बजे र दिउँसो बिदा हुने समयमा सो स्थानमा अनिवार्य प्रहरीको उपस्थिति हुने गरेको छ ।

‘विद्यार्थीहरू अहिले निसङ्कोच सडक पार गर्नुहुन्छ । हामीले सावधानीपूर्वक सडक पार गराइरहन्छौं,’ महतराले भने । राजमार्ग क्षेत्रमै रहेको त्रिभुवन उच्च माविमा ठूलो संख्यामा बिद्यार्थी पढ्दै आएका छन् ।

एकातिर ट्राफिक प्रहरीको उदासीनताले बजार क्षेत्रमा सवारी दुर्घटनामा बढेको र मानवीय क्षति हुने गरेको गुनासा बढिरहेका छन् भने अर्कातिर ट्राफिक प्रहरीले यस्ता उदाहरणीय काम पनि गरिरहेको देख्न पाइन्छ ।

सडक दुर्घटना रोक्नका लागि प्रहरीले गरेको यो काम उदाहरणीय भएको सर्वसाधारणको बुझाइ छ ।

एक स्थानीय भन्छन्, ‘स–साना विद्यार्थीलाई स्कुल जाँदा कतै केही हुन्छ कि भन्ने चिन्ता हुन्थ्यो अहिले राहत भएको छ ।’ बाँकेमा एकपछि अर्को गरी भइरहेका सडक दुर्घटना रोक्न यसैगरी प्रहरीले प्रभावकारी काम गर्नुपर्ने स्थानीयको भनाइ छ ।

 

प्रकाशित मितिः शनिबार, मंसिर १६, २०८०     8:37:07 AM  |