बाँके ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरूङले सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् ।
बाँकेको कोहलपुरमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै महासचिव गुरूङले अहिलेको सत्ता गठबन्धनमा कुनै समस्या नआएको बताए ।
‘अहिले सत्ता गठबन्धनमा रहेका दलहरूबीच त्यस्तो कुनै समस्या छैन,’ उनले पत्रकारको प्रश्नको जवाफ दिँदै भने, ‘सामान्य अवस्थामा नै सत्ता गठबन्धन अहिले अगाडि बढिरहेको छ ।’
अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरूमा कुनै पनि खटपट नआएको बताउँदै उनले गठबन्धनप्रति सबै दलहरू प्रतिबद्ध रहेको बताए । महासचिव गुरूङले हालको सत्ता गठबन्धन पाँच वर्षसम्म नै जाने दाबी गरे ।
हाल राजतन्त्र पुनस्र्थापना र हिन्दु राज्यको माग राखेर भइरहेको आन्दोलनलाई ‘डेट एक्स्पायर’को संज्ञा दिए ।
‘अहिलेको व्यवस्थाको विकल्प राजतन्त्र हुन सक्दैन । केही कमीकमजोरी छन् भने सच्चाउन सकिन्छ,’ महासचिव गुरूङले भने, ‘राजतन्त्र पुनस्र्थापना र हिन्दु राज्यको माग डेट एक्स्पायर हुन् ।’
डेमोक्रेसी र समाजवादतर्फ जानुपर्नेमा डेट एक्स्पायर भइसकेको राजतन्त्र र हिन्दु राज्यमा जान नसकिने उनले तर्क गरे । माओवादी घटकहरूसँग सहकार्य र एकताको लागि पहल थालिएको बताउँदै उनले सोहीअनुसार नै बाबुराम भट्टराईसँग पार्टी एकता गर्न लागिएको जानकारी दिए ।
महासचिव गुरूङ बर्दियामा बिहीबार नेकपा (माओवादी केन्द्र)ले गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेर कोहलपुर पुगेका थिए । कोहलपुरमा समेत यस क्षेत्रका अगुवा नेता–कार्यकर्तालाई उनले सम्बोधन गरेको नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्