कोहलपुर ।
कोहलपुरस्थित सशस्त्र प्रहरी बल (एपीएफ)द्वारा सञ्चालित विद्यालयमा खेल सप्ताह सुरु भएको छ । विद्यालयका समादेशक नायब उपरीक्षक सुरज खड्काले बुधबार खेल सप्ताहको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलार्ई सम्बोधन गर्दै विद्यार्थीहरूको शारीरिक, मानसिक, संवेगात्मक वा सर्वाङ्गीण विकासका लागि खेलकुदले अह्म भूमिका निर्वाह गर्ने समादेशक खड्काले बताए ।
‘मानव स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा तय गरिएको खेल सप्ताहमा सदनअनुसार मार्च पास, कबड्डी, फुटबल, एथ्लेटिकअन्तर्गत ज्याब्लिङ थ्रो, सटपुट, हाइजम्प, लङजम्प, लामो, छोटो र रिले दौड सञ्चालन गरिने विद्यालयका प्राचार्य मुकुन्दविक्रम शाहले जानकारी दिए ।
सय जनाभन्दा बढी विद्यार्थी विभिन्न खेलमा सहभागी हुनेछन् । प्रथम, द्वितीय, तृतीयलाई गोल्ड, सिल्भर र ब्रन्ज मेडलद्वारा पुरस्कृत गरिने विद्यालयका सूचना अधिकारी दिलदार हुसेन साइले जानकारी दिए ।
मंसिर १३ गतेदेखि सुरु भएको खेल १६ गते समापन हुनेछ । एपिएफ विद्यालयले प्रत्येक वर्ष खेल सप्ताहको आयोजना गर्दै आएको छ ।