बालिका बलात्कारपछि हत्या गर्ने बाँके खजुराका खाँ जेल चलान



गुल्मी ।

सोमबार गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोप लागेका बाँके खजुरा गाउँपालिका–४ का २३ वर्षीय रहिस खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् । उनी १७ कात्तिकमा शान्तिपुरबाट पक्राउ परेका थिए ।

१७ कात्तिकमा बालिका शान्तिपुर घर नजिकैको हुँग्दीखोलामा नग्न र डुवेको अवस्थामा फेला परेकी थिइन् । खोलामा बालिकाको दर्दनाक अवस्थामा शव फेला परेदेखि स्थानीयले बलात्कारपछि हत्याको आशंका गर्दै विरोध र प्रर्दशनसमेत गरे । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नविन किशोर प्रधानसहितको प्रहरीको टोली तत्काल घटनास्थल पुगेर घटनाको अनुसन्धान गरेर संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

मृतक बालिका शान्तिपुरको श्रीलंकाटोलमा आमासंग भाडाको घरमा बस्दै आएकी थिइन् । बालिका १६ कात्तिकबाट परिवारको सम्पर्कमा थिइनन् । आमासँग घर नजिकैको खेतमा काम गर्न गएकी उनी १६ कात्तिकको बिहान ११ बजे खेतलालाई सुर्ति किन्न बजार गएपछि फर्किनन् ।

स्थानीय र परिवारले बलात्कारपछि हत्या गरेको आरोप लगाउँदै गएका छन् । गुल्मी प्रहरीले घटनामा संलग्न भएको आरोपमा खाँलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि गुल्मी अदालत पेश गरेको थियो । जिल्ला अदालत गुल्मीले सोमबार खाँलाई पुर्पक्षको लागि जिल्ला कारागार गुल्मी चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

पछिल्लो तीन वर्षमा यो चन्द्रकोट गाउँपालिकाको दोस्रो ठुलो घटना हो । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरको जंगलमा ०७७ कात्तिक १६ गते दुई बालिकासहित महिलाको वीभत्स हत्या गरेर फालिएको अवस्थामा फेला परेका थिए । १३ दिनपछि घटनामा संलग्नलाई कास्कीस्थित पोखरा महानगरपालिका–२५ हेम्जाबाट पक्राउ गरिएको थियो ।

हत्या भएका तीन जना मोरङ कानेपोखरी गाउँपालिका–३ हर्कपुर घर भएका ३२ वर्षीया सरिता भन्ने शिवमाया लिम्बू र उनका जुम्ल्याहा छोरी ७ वर्षीया गंगा र जमुना मगर रहेका थिए । गुल्मी जिल्ला अदालतले हत्याकाण्डमा संलग्न मुख्य व्यक्ति बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनारलाई जीवित रहेसम्म कैद सजाय फैसला गरेको छ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर १२ गते मंगलबार