मंसिर १६ र १७ गते कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन



बाँके ।

नेपाली कांग्रेसले यही मंसिर १६ र १७ गते लुम्बिनी प्रदेश सम्मेलन गर्ने भएको छ । प्रदेश कार्यसमिति गठनपछि यो पहिलोपटक गर्न लागिएको सम्मेलन हो ।

बुटवलमा हुने प्रथम प्रदेश सम्मेलनमा ७ सय ५० जना प्रतिनिधि सहभागी हुनेछन् । प्रदेश महाधिवेशन प्रतिनिधिबाट सबै, प्रदेशसभा क्षेत्रबाट ९ जनाका दरले ४ सय ६८ प्रतिनिधि सहभागी हुनेछन् ।

सम्मेलनमा प्रदेश सदस्य १ सय ३ जना, सल्लाहकार १ सय २१ जना, संघीय र क्षेत्रका सभापति २२ जना, जिल्ला सभापति १२ जना, केन्द्रीय सदस्य २१ जना पनि सम्मेलनमा प्रतिनिधिका रूपमा सहभागी हुने प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए ।

सम्मेलनको उद्घाटन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् । सम्मेलनमा नेता शेखर कोइराला, उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेता पनि आउने उनले जानकारी दिए ।

कांग्रेस विधानअनुसार हरेक कार्यसमितिले वर्षमा कम्तिमा एक पटक सम्मेलन गर्नुपर्ने हुन्छ । ‘प्रदेश सम्मेलनको बैठक कम्तिमा प्रत्येक वर्षमा एक पटक बस्नेछ । तर प्रदेश अधिवेशन हुने वर्षमा प्रदेश सम्मेलनको बैठक हुने छैन,’ विधानमा लेखिएको छ ।

एउटा अधिवेशन समाप्त भई अर्को प्रदेश अधिवेशन प्रारम्भ नहुँदाको अवस्थामा प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक अधिवेशनको सबै कार्य गर्न सक्ने’ प्रदेश सम्मेलनको काम, कर्तव्य र अधिकार तोकिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर १२ गते मंगलबार