11 September 2024  |   बुधबार, भदौ २६, २०८१

नेपालगन्जका दूध डेरीहरूमा अखाद्य र म्याद गुज्रेका सामान भेटिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर ११, २०८०  

नेपालगन्ज ।

नेपालगन्जमा अखाद्य बस्तुमाथि निगरानी बढाइएको छ । लेबलिङ नगरिएका र म्याद गुज्रेका अखाद्य बस्तुको बिक्री वितरण भइरहेको गुनासो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले निगरानी बढाएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख एवम् अनुगमन समिति संयोजक कमरुद्दिन राईको नेतृत्वमा बजार अनुगमन गरिएको छ । नगरका विभिन्न ५ वटा डेरी उद्योग र पसलहरूमा अनुगमन गरिएको अनुगमन शाखा प्रमुख प्रविन रानाले जानकारी दिए । अनुगमनका क्रममा लेबलिङ नगरिएका दूध र दुग्धजन्य पदार्थ भेटिएका छन् । यस्तै उद्योग र पसलहरूमा सरसफाइको अवस्था कमजोर देखिनुका साथै आवश्यक कागजपत्र देखिने गरी नराखेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख एवम् प्रतिनिधि र पत्रकारसहितको अनुगमन टोलीले अखाद्य बस्तु नष्ट गरेको छ । खजुरा रोडस्थित जनता दुग्ध डेरी उद्योगमा लेवलबिनाका पोका दही नष्ट गरिएको रानाले बताए ।

यस्तै, गणेशपुरस्थित अम्बे डेरी उद्योगमा लेबलिङ नगरिएका ४ पोका डुनट नष्ट गरिएको छ । डिएसपी रोडस्थित कान्हा डेरी उद्योगमा थुप्रै अखाद्य पेय पदार्थ नष्ट गरिएको छ । म्याद गुज्रिएका कोकाकोला, फ्यान्टा, ४ प्याकेट ब्रेडलगायत बस्तु अनुगमन टोलीले नष्ट गरेको छ ।

यस्तै, गुणस्तर विश्लेषणका लागि जनता डुग्ध डेरीबाट पनिर, अम्बेबाट घ्यू र रियासत डेरी पसल डिएसपी रोडबाट दूधको नमुना ल्याइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले बताए । खजुरा रोडस्थित खनाल डेरीमा पनि केही दुग्धजन्य बस्तु लेबलिङ नगरेको पाइएको छ । अनुगमनका क्रममा उद्योग र पसल सञ्चालकहरूलाई सचेत बनाइएको छ ।

उपप्रमुख राईले उपभोक्ताको असल स्वास्थ्यका लागि खाद्य बस्तुहरूको निरन्तर अनुगमन गरिरहेको बताए । राईले पछिल्लो समय डेरी पसलहरूको गुनासो बढेपछि निगरानी बढाइएको जानकारी दिए ।

अनुगमन टोलीमा उपप्रमुख राई, कार्यपालिका सदस्य वसन्त कनौजिया, नेपालगन्ज उपमहानगरपालिकाका अनुगमन शाखा प्रमुख राना, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका निमित्त प्रमुख अमितभूषण सुमन, खाद्य अनुसन्धान अधिकृत बुढाथोकी, जिल्ला प्रशासन कार्यालयका वेदेश्वर गौतमलगायत सहभागी थिए ।

प्रकाशित मितिः सोमवार, मंसिर ११, २०८०     8:24:41 AM  |