नेपालगन्जको मानव बस्तीमा जरायो फेला



बाँके ।

नेपालगन्ज बजार क्षेत्रमा फेला परेको बजारबाट वन्यजन्तु जरायोलाई नियन्त्रणमा लिइएको छ । शनिबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका–१८ को मानव बस्तीबाट जंगली वन्यजन्तु जरायोलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको जरायोलाई बाँके राष्ट्रिय निकुञ्जमा बुझाइएको नेपालगन्ज सब डिभिजन वन कार्यालय राँझाका सहायक डिभिजन वन अधिकृत नारायण पार्धेले जानकारी दिए । मानव बस्तीमा देखा परेको जरायोलाई नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जको डार्टिङ टोलीलाई बोलाइएको थियो ।

कुकुरले लखेट्दै ल्याएर खेतको खाडलमा खसेर अड्किएको अवस्थामा जरायो फेला परेको पार्धेले बताए । उनका अनुसार भागेको जरायोलाई लखेट्दै जाँदा अत्तालिएर एक स्थानीयको घरको कोलियाभित्र पसेपछि त्यहाँबाट नियन्त्रणमा लिइएको हो ।

‘डार्ट’ प्रयोग गरेको करिब दुई घन्टापछि मात्र जरायोलाई नियन्त्रणमा लिन सकिएको थियो । करिब १ सय ५० किलोको भाले जरायो कसैले घरमा पालेको हुनसक्ने बताइएको छ ।

‘कसैले घरमा पालेको जरायो हुनसक्छ, हेर्दा घरमा पालेको जस्तो देखिन्थ्यो, घरबाट फुस्केर बाहिर निस्केपछि कुकुरले लखेट्दै ल्याउँदा खाडलमा खस्यो,’ पार्धेले भने । यसबारे थप अनुसन्धान अगाडि बढाइएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर ११ गते सोमबार